बुधबार, असोज २९, २०८२ |Wed Oct, 2025
अक्ल्याण्डको समय: ००:३१ |सिड्नीको समय: २२:३१ |काठमाडौंको समय: १७:१६

जेनजी लिडरले अघि सारेका बुँदा : आन्दोलनका उपाधि उल्टिने खतरा

एएनजेड खबरअक्टोबर ६, २०२५

-जीवन क्षेत्री

मलाई हिजोसम्म पनि लाग्दै थियो भदौ २३ मा जेन जीका युवाहरुले आन्दोलन गरेका हुन् र भदौ २४ मा मूलतः घुसपैठ गर्नेहरूले हिंसा र अराजकता मच्चाएका हुन् । तर जेन जी अगुवाका नाममा प्रधानमन्त्री सुशीला कार्कीलाई हस्ताक्षर गराउन खोजिएको यो डकुमेन्ट हेर्दा फरक कुरा पुष्टि हुन्छ। त्यो अप्रिय तर सत्य कुरा के हो भने आफूलाई जेन जी भन्ने एउटा समूह अझै पनि भदौ २४ को बितण्डाका लागि पूर्ण दण्डहिनता सिर्जना गर्न लागि परेको छ। सँगसँगै त्यो समूह हाल कायम संवैधानिक परिपाटीलाई भताभुङ्ग पार्न उद्यत छ भन्ने कुरा पनि यसले देखाउँछ।

यसबाट भदौ २४ को तोडफोड र आगजनी घुसपैठ गर्नेहरूले मात्रै गरेका हुन् भन्ने भाष्यमा प्रश्न चिन्ह खडा भएको छ। यो डकुमेन्टले त्यस दिन भएका जघन्य अपराधहरूमाथि जनआन्दोलनको लेप लगाएर अपराधीहरूलाई पञ्चखत माफी दिने प्रपञ्च गरेको कुरा खुलस्त छ। यो तयार पार्ने युवाहरूलाई लागेको हुनसक्छ युगान्तकारी परिवर्तनका बेला यस्ता घटना आउँछन्, जान्छन्। तर जो पनि माग लिएर सडकमा निस्किन्छ उसलाई आफूले ल्याउन लागेको परिवर्तन युगान्तकारी नै लाग्छ । चैत १५ मा दुर्गा प्रसाईहरुले त्यही सोचेर नै आगजनी हिंसा र अराजकताको युगमा समाजलाई प्रवेश गराएका थिए।

समाजलाई अन्तहीन हिंसा, आगजनी र विनाशको दुस्चक्रमा होम्ने उद्देश्य हो भने उनीहरूको रणनीति ठिकै होला। तर अपराध गर्नेहरू दण्डित हुने र निर्दोषले न्याय पाउने न्यूनतम विधि र व्यवहार स्थापित नहुने हो भने हाम्रो समाज कहिल्यै माथि उठ्न सक्दैन। कानुनी राज र लोकतन्त्रको आधारभूत मान्यता नै त्यही हो।

आन्दोलनको रापताप रहन्जेल युवा साथीहरूलाई हामी इतिहासमै नभएका कुराहरु गरेर देखाइदिन्छौं भन्ने अति विश्वास र अहंकार होला। तर हजारौं वर्षको मानव इतिहासमा स्थापित भएका आधारभूत सत्यहरू स्वीकार्दैनौ भन्नु गुरुत्वाकर्षणलाई मान्दैनौं त्यसैले हामी माथितिर खस्छौं भन्नु जस्तै हो।

यस्ता घातक बुँदाहरू सिर्जना गर्नेहरूको सूचीमा सुदन गुरुङको नाम देख्दा मलाई उति अनौठो लागेन किनकि उनी सोचविचार र मन्थन गरेर निष्कर्षमा पुग्ने भन्दा पनि भावनाको लहडबाट निर्देशित भएर जे पनि बोल्ने जस्तो पनि निर्णय गर्ने व्यक्ति जस्तो देखिन्छन्। तर अनलाइनखबरको समाचार अनुसार भावना राउत जस्ता धेरै आशा गरिएका युवाहरू पनि यस्तो प्रपञ्चमा संलग्न हुन् भने त्यो धेरै दुःखलाग्दो कुरा हो।

अझै पनि समय घर्किसकेको छैन। त्यसैले आशा गरौं अहिले उनीहरुले चाल्ने कदमहरूको दीर्घकालीन प्रभावलाई मनन गरेर उनीहरुले आफूलाई सच्चाउँदै, सिक्दै र परिपक्व बनाउँदै लैजानेछन् तर उनीहरुकै कारण भदौ २४ को अपराधका लागि देशैभरिका हजारौँ खुंखार अपराधीहरूका लागि दण्डहिनता सिर्जना भयो भने त्यसमा टेकेर जेन जी आन्दोलनका उपाधि उल्टिने मात्रै होइन, आवधिक रूपमा त्यस्तो विनाशकारी हिंसा दोहोरिइरहने, अर्थतन्त्र सधैँका लागि थला पर्ने र सिंगो समाज नै अँध्यारो खाडलमा जाकिने बाटो खुल्नेछ। चेतना भया। (स्रोत ः जीवन क्षेत्रीका्े फेसबुक पेजबाट)

तपाइँको प्रतिक्रिया