मिन्टो सिड्नीमा २४ अगस्टमा प्रमोद खरेलको स्वर गुञ्जिने :प्रवेश निःशुल्क
सिड्नी, एएनजेड खबर — नेपाली सांगीतिक जगतका चर्चित गायक प्रमोद खरेल आफ्नो ब्याण्ड परम्परासहित अष्ट्रेलिया भ्रमणमा आउँदैछन्। ‘अष्ट्रेलिया लाइभ’ नाम दिइएको यस सांगीतिक यात्राको पहिलो प्रस्तुति २४ अगस्ट २०२५, दिउँसो २ बजे सिड्नीको कोरोनेशन नेटबल कोर्ट एण्ड फुटबल मैदान (मिन्टो रेल स्टेशन नजिकै) मा हुने भएको छ।
यसमा अन्य राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने लोकप्रिय सङ्गीत संयोजक डीजे सुशीलले पनि माहोल तताउनेछन्। यो विशेष कार्यक्रम अष्ट्रेलियामा रहेका स्वलीन (अटिस्टिक) नेपाली बालबालिकाहरूको सहयोगार्थ च्यारिटी स्वरूपमा आयोजना गरिएको हो।
कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ र दर्शकले ताजा नेपाली सडक-खाना, मदिरा तथा अन्य पेय पदार्थको स्वाद लिन सक्नेछन्। मुख्य प्रायोजकका रूपमा साब्रिनी फुड्स रहेका छन् भने सुरक्षा, यातायात, मुद्रण, भिसा, मिडिया तथा अन्य सहयोगी साझेदारहरूमा विभिन्न अष्ट्रेलियाली व्यवसाय र संस्थाहरूको सहभागिता रहेको छ। यसमा एएनजेड खबर आधिकारिक मिडिया साझेदारको रूपमा संलग्न रहेको छ।
गायक प्रमोद खरेलले यस टुरबारे भने, “हाम्रो ब्याण्ड ‘परम्परा’सहितको यो पहिलो अष्ट्रेलिया टुर हो। हामी निकै उत्साहित छौं र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई रमाइलो, स्मरणीय र ऊर्जा भरिएको सांगीतिक वातावरण दिने तयारीमा छौं।”
आयोजकका अनुसार यस यात्राको उद्देश्य अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्ना पुराना र नयाँ गीतमार्फत एकत्रित गर्दै सांस्कृतिक एकता र मनोरञ्जनको माहोल सिर्जना गर्नु हो।
















तपाइँको प्रतिक्रिया