सोमबार, असोज २७, २०८२ |Mon Oct, 2025
अक्ल्याण्डको समय: ०१:१६ |सिड्नीको समय: २३:१६ |काठमाडौंको समय: १८:०१

एनआरएनए एकता र राष्ट्र पुनर्निर्माणमा जुट्न महेश श्रेष्ठको आब्हान

एएनजेड खबरअक्टोबर ११, २०२५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।

शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, महासचिव बाबु राम (बी आर)लामा, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।

सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए । अध्यक्ष श्रेष्ठले गत भदौ २३–२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विनोद कुँवरले सबैले ब्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे।
संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेनजी आन्दोलनपछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् । संघले एनआरएन दिवसकै अवसरमा शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ। यसैगरी शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम छ।

तपाइँको प्रतिक्रिया