विपिनको मृत्युले नेपालमा सन्नाटा
काठमाडौं । हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक गरेको छ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव फिर्ता गर्ने घोषणा गरेको हो।
हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।
यसअघि इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। हमासले आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत इजरायलसमक्ष बुझाएको थियो।
इजरायलको अमानवीय आक्रमणका कारण परिवारका सदस्य र घरबार गुमाएका प्यालेस्टिनीहरू पनि यतिबेला ‘उत्सव’ मनाइरहेका छन्। यसर्थ कि युद्धविरामसँगै इजरायली आक्रमणबाट ज्यान गुमाउनुपर्ने सम्भावना तत्कालका लागि टरेको छ। घर भग्नावशेष भए पनि उनीहरू शरणार्थी शिविरबाट आफ्नो थातथलो फर्कन पाएका छन्।
इजरायली र प्यालेस्टिनी दुवै पक्ष उल्लासमा रहेका बेला सोमबार बिहानै इजरायलबाट आएको एउटा जानकारीले भने सारा नेपालीहरूलाई नराम्रो झट्का दियो। इजरायली अधिकारीहरूले बिहानै नेपाली राजदूत प्रा धनप्रसाद पण्डितलाई फोनमार्फत् हमासको कब्जाबाट रिहा हुने जीवितहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी नरहेको जानकारी गराएका थिए।
तपाइँको प्रतिक्रिया