बुधबार, असोज २९, २०८२ |Wed Oct, 2025
अक्ल्याण्डको समय: १८:०१ |सिड्नीको समय: १६:०१ |काठमाडौंको समय: १०:४६

जेनजीले निम्ताएको असहज अवस्था : प्रहरी चेपुवामा, भुडभेटको चिन्ता

एएनजेड खबरअक्टोबर ८, २०२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्।

यता, नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् । अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन् । जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ ।

यसअघि गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।

यता, जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल सकारात्मक देखिएपनि प्रहरी भने कानुनी आधार र लिखित आदेश मागिरहेको छ । सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए ।

तथापी, आन्दोलनका क्रममा भएका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले नियमित फौजदारी प्रकियाका अनुसन्धान अघि बढाउन आयोगका कामले कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यो विषयमा स्पष्ट पार्दै कुनै पनि नियमित काम गर्न आयोगको मुख ताक्न नपर्ने बताए । तर प्रहरी भने चेपुवामा परेको छ ।

तपाइँको प्रतिक्रिया