अस्ट्रेलिया र पपुवा न्युगिनीबीचको सम्झौताले चीनलाई टाउको दुखाई
एजेन्सी । अस्ट्रेलिया र पपुवा न्युगिनीबीचको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर कार्यक्रमले चीनले असन्तोष व्यक्त गरेको छ । दुई देशका नेताहरूले सोमबार उक्त सन्धिमा हस्ताक्षर गरेपछि चीनले आफूलाई लक्षित गरिएको असन्तुष्टि व्यक्त गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले यो सम्झौतालाई आपसी रक्षा सन्धिको रूपमा वर्णन गरेका छन्, जसले दुवै मुलुकका रक्षा बल र सैन्य कर्मचारीबीच अभूतपूर्व सहयोग र एकीकरण सुनिश्चित गर्नेछ ।
सन् १९५१ मा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डसँग गरिएको एन्जस सन्धिपछि अस्ट्रेलियाको यो दोस्रो गठबन्धन(स्तरको सुरक्षा सम्झौता हो । पपुवा न्युगिनीका लागि भने यो पहिलो यस्तो सन्धि हो। दुवै देशका संसद्हरूले अनुमोदन गरेपछि यो सन्धि कार्यान्वयनमा आउनेछ ।
प्रधानमन्त्री अल्बानिजका अनुसार अस्ट्रेलियाको सबैभन्दा नजिकको छिमेकी राष्ट्र अब उसको प्रमुख सुरक्षा साझेदार बन्नु गर्वको विषय हो ।
सम्झौताले दुई देशमा सशस्त्र आक्रमण भएमा दुवै पक्षले साझा खतरा सामना गर्न एकजुट भएर कार्य गर्नेछन् । गत महिना सन्धिको मुख्य सिद्धान्तमा हस्ताक्षर गरेपछि पपुवा न्युगिनीस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै यस्तो सम्झौता अनन्य प्रकृतिको हुनु हुँदैन र यसले तेस्रो पक्षसँगको सहयोगमा बाधा नपार्नुपर्ने जनाएको थियो ।
हालका वर्षहरूमा अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाले पपुवा न्युगिनीसँग सैन्य सहयोग विस्तार गरेका छन्, जसलाई प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्ने रणनीतिक प्रयासका रूपमा हेरिन्छ ।
पपुवा न्युगिनीका लागि यो सन्तुलनको विषय बनेको छ, किनभने देशले चीनसँग आर्थिक साझेदारी पनि खोज्दै आएको छ ।
सन् २०२२ मा चीनले सोलोमन टापुहरूसँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलियाले यस क्षेत्रका टापु राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्न सक्रिय पहल गर्दै आएको छ ।
दक्षिण प्रशान्त क्षेत्रमा अस्ट्रेलिया र न्युजिल्यान्ड बाहेक पपुवा न्युगिनी, फिजी र टोङ्गामात्र आफ्नै सेना भएका राष्ट्र हुन् । अस्ट्रेलियाले हाल फिजीसँग पनि द्विपक्षीय रक्षा सम्झौताका लागि वार्ता अगाडि बढाइरहेको छ ।
तपाइँको प्रतिक्रिया