शनिबार, भदौ २८, २०८२ |Sat Sep, 2025
अक्ल्याण्डको समय: १७:५३ |सिड्नीको समय: १५:५३ |काठमाडौंको समय: ११:३८

नेपालमा नयाँ प्रधानमन्त्री नियुक्तिपछि बोले भारत र बेलायत

एएनजेड खबरसेप्टेम्बर १३, २०२५

काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनपछि विभिन्न देशहरुले प्रतिक्रिया दिएका छन् । भारतले स्वागत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

त्यस्तै, बेलायतले नेपालमा कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ। कार्कीले शुक्रवार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ।

तपाइँको प्रतिक्रिया