मंगलबार, भदौ १०, २०८२ |Tue Aug, 2025
अक्ल्याण्डको समय: १८:५४ |सिड्नीको समय: १६:५४ |काठमाडौंको समय: १२:३९

नेपालमा डुबेर हुने मृत्यु रोक्न पौडीबाज लाया सिड्नीमा म्याराथन दौडदै

एएनजेड खबरअगस्ट २३, २०२५

सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौड्दै छिन्। नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न आफूले उक्त दौडमा भाग लिन लागेको उनले बताइन् ।

सिंगापुरमा रहेकी उत्साही ‘लाइफसेभर’ लाया ‘ए ग्लोबल मिशन टु एण्ड ड्राउनिङ—स्टार्टिङ विथ नेपाल’ (डुब्ने समस्याको विश्वव्यापी अन्त्यको ‘मिशन’, नेपालबाट शुरू गरौं)भन्ने नारासहित म्याराथनमा सहभागी हुँदैछिन्।

नेपालका विभिन्न भागमा, विशेषगरी बालबालिकाहरू, डुबेर अकालमा ज्यान गुमाइरहेका छन्। तराई–मधेश क्षेत्रमा मात्र डुबेर हुने सबै मृतकमध्ये करिब ६२५ बालबालिकाहरू नै हुन्छन्। विश्व स्वास्थ्य संगठनले पानीमा डुब्ने समस्या एक रोक्न सकिने विपत्ति भएपनि नेपालमा हरेक वर्ष करिब १,६०० जनाको डुबेर ज्यान जाने गरेको जनाएको छ।

हालै डुब्ने घटना रोकथामसम्बन्धी अनुसन्धानकर्ताहरू भगवती सेडाइ र पुष्पराज पन्तले युरोपाशिपियन जर्नल अफ मेडिकल साइन्सेसमा एक लेख प्रकाशित गर्दै नेपालमा डुब्ने घटनाको गम्भीरता चित्रण गरेका छन्। लेखकद्वयले यसलाई रोकथाम गर्न सरकार, गैरसरकारी संस्थाहरू र स्थानीय समुदायले तुरुन्त कदम चाल्नुपर्ने सुझाव पनि दिएका छन् ।

ग्लोबल वाटर सेफ्टी एण्ड ड्राउनिङ प्रिभेन्सन रोटरी क्लबले आफ्ना साझेदारहरू—स्विम कोचेज एण्ड टिचर्स अष्ट्रेलिया, रोटरी क्लब अफ बालाजु र निरि युनिट फर प्रिभेन्सन एण्ड लाइफ–सेभिङ एक्टिभिटिज( सँग मिलेर डुबेर हुने मृत्यु संख्यालाई भविष्यमा शून्यमा झार्ने उद्देश्यले काम गरिरहेको छ।

सन् २०२५ को सुरुवातमा यस सहकार्य अन्तर्गत केही नेपालीलाई पौडी प्रशिक्षकका रूपमा तालिम पनि दिइएको थियो । उक्त परियोजनाले युवाहरूलाई आफ्नै समुदायमा पानीमा सुरक्षा सम्बन्धी ज्ञान सिकाउने प्रशिक्षण दिएको थियो। यो पहिलो परियोजनाले केवल तालिम मात्र दिएन, एउटा स्थायी र सकारात्मक सन्देश मार्फत प्रशिक्षित प्रशिक्षकहरूले हरेक दिन सकारात्मक प्रभाव पारिरहेका छन्, जसले जल सुरक्षा र सचेतनाको प्रवाह पनि गरिरहेको छ।

लायाले सहयोग गर्ने नयाँ परियोजना आगामी दिनमाअब नेपालमा जल सुरक्षा क्षेत्रलाई बलियो बनाउन विश्वस्तरीय शिक्षा र पूर्वाधार सहयोगमा केन्द्रित छ। स्विम कोचेज एण्ड टिचर्स अष्ट्रेलियाको विशेषज्ञतामार्फत यो परियोजनाले उन्नत तालिम, स्रोतसाधन र रणनीतिक मार्गदर्शन उपलब्ध गराएर नेपाली प्रशिक्षक, सामुदायका अगुवाहरू र संस्थाहरूलाई सक्षम बनाउनेछ।

‘नेपालमा हरेक दिन औसतमा पाँच जनासम्मको डुबेर ज्यान जाने गरेको छ । जसमा दुई जना बालबालिका हुन्छन्। यो मौन त्रासदी हाम्रा नदी, सिंचाइ नहर, कुलो, पोखरी र तालहरूमा निरन्तर भइरहेको छ। तर हामीले सहकार्यमार्फत यो अवस्थालाई बदल्न सक्छौँ,’ डा.पुष्पराज पन्तले भने।

नेपालमा ५ देखि १४ वर्ष उमेरका बालबालिकामा डुब्नु मृत्युको दोस्रो प्रमुख कारण हो । तर यसलाई रोक्न सकिन्छ। लायालाई र उनको सिड्नी म्याराथन अभियानलाई पेपालमार्फत सहयोग गर्न अभियानकर्ताहरुले आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया