महेश श्रेष्ठको चेतावनी : एकताको वातावरण विथोल्ने एनसीसीले मान्यता पाउँदैनन्
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्वय परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन् ।
तर, संघको सचिवालय आफू नियन्त्रणमा राखेको डा. बन्द्री केसी समूहले एनसीसीको निर्वाचन गराए पनि कुनैपनि हालतमा अक्टोबरमा आइसीसीको अधिवेशन हुनै नस्कने प्रष्ट पार्दै उनीहरुसँग सहकार्य गर्ने र एकताको वातावरण विथोल्ने एनसीसीलाई मान्यता नदिने बताए । ‘केही साथीहरुलाई लागेर मात्रै हुँदैन, देशको कानुन, नियम र सर्वोच्च अदालतको परमादेशलाई पनि मान्नुपर्छ होला’ उनले भने ।
गत मे महिनामा एनआरएनए उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनद्वारा नयाँ आइसीसी निर्वाचित भैसकेकाले अब अक्टोबरमा गराउने भनेको चुनाव वैधानिक नहुने पनि श्रेष्ठले बताए ।
केसी पक्षले अहिलेसम्म एनआरएनएको तालुकदार निकाय, परराष्ट्र मन्त्रालयसँग कुनैपनि समन्वय नगरी एकतर्फी रुपमा एनसीसीको अधिवेशन गराएर प्रवासमा बस्ने नेपालीहरुलाई फुटाउने काम गरेको पनि उनको भनाई छ ।
अहिले विभिन्न देशमा भइरहेको राष्ट्रिय समन्वय परिषद्हरुको चुनावलाई नजिकबाट नियाली रहेको उनले बताए । उनले निर्वाचन भएका र हुन लागेका एनसीसीहरुले आफू नेतृत्वको कार्यसमितिसँग सहमति गरेर गएमा स्वीकार गरिने पनि प्रष्ट पारे ।
सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको निर्वाचनबाट सर्वसम्मत अध्यक्ष भएका श्रेष्ठले सुरुदेखि नै एकताको पक्षमा आफुलाई उभ्याए पनि संघको सचिवालय कब्जा गरेर बसेको केसी समूहका कारण त्यो सम्भव नभएको उनको भनाई छ ।
उक्त समूहले अक्टोबरमा आइसीसीको अधिवेशन गर्ने भन्दै धमाधम एनसीसीहरुको चुनाव गराइरहेको विषयमा जानकार रहेका अध्यक्ष श्रेष्ठले आफ्नो कार्यसमिति अहिले पनि एकताको पक्षमा रहेकाले एनसीसीहरुको चुनावका सन्दर्भमा आफू प्रष्ट रहेको बताए । ‘अहिले पनि म दुईवटा समानान्तर एनसीसी बनाउने पक्षमा छैन । तर केही साथीहरुले त्यो अभ्यास गर्नु भएको छ, यो कुरा स्वीकार्य छैन ।’
उनले स्पष्ट शब्दमा भने ‘एनसीसीहरुले अक्टोबरमा केसी समूहले गर्ने भनिएको अधिवेशनमा प्रतिनिधि र सदस्यता शुल्क पठाउनहरुलाई मान्यता दिन सकिँदैन ।’ उनले एनसीसीहरु स्वायत्त रहेको र अदालतको अन्तिम फैसला नआउँदासम्म तटस्थ बस्न पनि अनुरोध गरेका छन् ।
केही देशका एनसीसीले सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको किनारा नलाग्दासम्म दुवै पक्षसँग सहकार्य गर्ने एमओयु गरेर अधिवेशन गराएको पनि अध्यक्ष श्रेष्ठले बताए । केही सामाजिक सञ्जालहरुमा फलानोलाई श्रेष्ठले बधाई दिए भन्दै आएका समाचार र सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उनले बताए । उनले भने ‘एकताको पक्षमा लाग्न फेरि पनि साथीहरुलाई आग्रह गर्छु ।’
श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसला आफूले मान्ने बताउँदै अहिले एनसीसीहरुलाई फुटाउने भन्दा पनि एक ढिक्का बनाएर एनआरएनहरुको अधिकारका लागि नेपाल सरकारसँग पहल गर्नु पर्ने बेला रहेको जनाए । अहिले सम्म झन्डै ४० देशमा एनसीसीहरुको चुनाव सम्पन्न भएकोमा आधा भन्दा बढी वैधानिक आइसीसीसंग निकट रहेको उनले जनाए । सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया