शुक्रबार, भदौ २७, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: १८:३४ |सिड्नीको समय: १६:३४ |काठमाडौंको समय: १२:१९

जेनजी आन्दोलन हिंसात्मक हुँदा एकसय खर्बभन्दा बढीको क्षति

एएनजेड खबरसेप्टेम्बर १२, २०२५

काठमाडौं । मंगलवार र बुधबार भएका विभिन्न घटना, तोडफोड र आगजीमा खर्बौं रुपियाँको क्षति भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ सय खर्बभन्दा बढीको क्षति भएको जनाइएको हो ।

सो आन्दोलनका क्रममा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अधिकांश मन्त्रालयहरू, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय तथा काठमाडौंका अन्य विभिन्न सरकारी कार्यालय, प्रहरीका सबै युनिटहरू, देशका विभिन्न जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरू, स्थानीय तहहरूमा आगजनी गरिएको छ ।

यस्तै, विभिन्न व्यक्तिहरूको निजी घरहरूमा समेत आगजनी भएको छ । देशभरमा सयौ कार्यालय तथा नेताका घर जलेर नष्ट भएका छन् । राजधानी उपत्यकादेखि प्रमुख सहरहरू हुँदै ग्रामीण क्षेत्रमा समेत फैलिएको हिंसात्मक प्रदर्शनका क्रममा दर्जनौं मानिसको ज्यान गएको छ भने सयौं घाइते भएका छन् ।
आन्दोलनकारीले सरकारी कार्यालय, पार्टी कार्यालय, नेताका निजी निवासदेखि सडकका भौतिक संरचना ध्वस्त पार्दा देश नै असुरक्षित बनेको चित्र देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३८ जनाले ज्यान गुमाएका छन् । अधिकांश राजधानी उपत्यकाभित्र र तराईका प्रमुख सहरहरूमा भिडन्तका क्रममा मृत्यु भएका हुन् । मृतकमध्ये ३ सुरक्षाकर्मीसमेत छन् भने बाँकी सर्वसाधारण आन्दोलनकारी हुन् ।

घाइतेको संख्या भने तीन सय नाघेको छ । तीमध्ये करिब सय जनाको अवस्था गम्भीर छ । काठमाडौं उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल अस्पतालदेखि धरान, पोखरा र नेपालगञ्जका ठूला अस्पतालमा घाइतेको भीड छ । उपत्यकाभित्र मात्र २४ जनाले ज्यान गुमाए भने ४ सयभन्दा बढी घाइते भए ।

तपाइँको प्रतिक्रिया