नागरिक सरकारको नेतृत्व लिन सुशीला कार्की तयार
काठमाडौं । जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भएपछि नागरिक सरकारको कसरत सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवाला सबैपक्षसँग सघन छलफल गरिरहेका छन्।
मंगलबार रातिबाट प्रधानसेनापति सिग्देलले थालेको छलफल जारी छ। यसबीचमा आन्दोलनको मुख्य शक्ति जेनजी समूहहरूबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नु पर्ने प्रस्ताव सशक्त रुपमा आएको छ।
जेनजी विभिन्न समूहमा छरिएका भए पनि कार्कीका पक्षमा एकमतजस्तै देखिएका छन्। उनीहरूले सामूहिक रूपमा आफ्नो एजेन्डासहित कार्कीलाई अनुरोधपत्र पनि दिएका छन्।
विभिन्न चरणका छलफल र वार्ताहरूमा सहभागी स्रोतहरूका अनुसार, जेनजीबाट पत्याइएका व्यक्ति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सुशीला कार्कीका नाममा समर्थन जनाएका छन्।
आन्दोलनको मुख्य शक्तिसहित धेरैतिरबाट स्वीकार्य देखिएकाले कार्कीका नाममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति सिग्देल पनि सकारात्मक देखिएका छन्।
अन्तरिम सरकारको नेतृत्वका विषयमा लगभग सहमति बनेको र वैधानिक बाटोका विषयमा गृहकार्य चलिरहेको छलफलमा सहभागी विभिन्न पक्षहरूसँगको कुराकानीबाट बुझिन्छ।
यता, कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।
भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’
तपाइँको प्रतिक्रिया