अस्ट्रेलियालगायत नौं देशले भने : घटना हिंसात्मक भयो, अधिकतम संयम अपनाऔं
काठमाडौं । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा सोमबार ठूलो मानवीय क्षति भएपछि विभिन्न देशले दुःख व्यक्त गरेका छन् ।
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं। पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘ हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।’
समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।
तपाइँको प्रतिक्रिया