जेनजी आन्दोलन : घातक बल प्रयोग, मानवअधिकारको चरम उल्लघंन

काठमाडौं । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।
यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ।
यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।
यता, प्रहरी दमनको व्यापक विरोध भइरहेको छ । एम्नेनेस्टी इन्टरन्यासनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले गैरकानूनी रुपमा घातक बल प्रयोग गरेको भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनको क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका जनाएको हो।
काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वरसम्म पुगेपछि प्रदर्शनकारीले संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको आयोगले जनाएको छ । यस क्रममा आयोगकै अनुगमन टोली र सवारी साधनमाथि समेत आक्रमण भएको आयोगले जनाएको छ ।
आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनअनुसार नागरिकलाई शान्तिपूर्ण ढङ्गले विमति प्रकट गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
आयोगले प्रदर्शनलाई तोडफोड र आगजनीमा नपुर्याउन प्रदर्शनकारीलाई आह्वान गरेको छ भने सुरक्षाकर्मीलाई अत्यधिक बल प्रयोग नगर्न अनुरोध गरेको छ । साथै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा आयोगले जनाएको हो ।
तपाइँको प्रतिक्रिया