पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरू आन्दोलनमा उत्रिने
काठमाडौं । सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले आपत्ति जनाएका हुन् । दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरिएको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो। नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको छ। यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं। यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।’
सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन्, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द उनीहरुले जनाएका छन् ।
‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन सक्दैन । हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ ।
साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ ।
साथै सरकारलाई दवाव दिनका लागि मिति २०८२ भदौ २२ गते आइतवार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आव्हान गरिएको छ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । सामाजिक संजाल प्रतिबन्द विरुद्ध नेपाल पत्रकार महासंघले कडा रुपमा प्रतिवाद नगरेपछि पूर्वहरु सक्रिय भएका हुन् । महासंघको अध्यक्षमा हाल संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ निकट निर्मला शर्मा अध्यक्ष छिन् ।
१. तारानाथ दाहाल – पूर्व अध्यक्ष
२. गोविन्द आचार्य – पूर्व अध्यक्ष
३. रमेश विष्ट – पूर्व कार्यवहाक अध्यक्ष
४. खिल बहादुर भण्डारी – पूर्व उपाध्यक्ष
५. उदय जिएम – पूर्व उपाध्यक्ष
६. रोशन पुरी – पूर्व महासचिव
७. ध्रुव लम्साल – पूर्वसचिव
८. प्रकाश थापा – पूर्व सचिव
९. पवन आचार्य – पूर्व सचिव
१०. लक्ष्मी पुन – पूर्व सचिव
११. धमेन्द्र कर्ण – पूर्व सचिव
१२. लेखनाथ न्यौपाने – पूर्व लेखा समिति संयोजक
१३. अजय फुँयाल – पूर्व केन्द्रिय सदस्य
१४. उज्वल आचार्य – पूर्व केन्द्रिय सदस्य
१५. प्रकाश तिमल्सिना – पूर्व केन्द्रिय सदस्य
१६. दिपेन्द्र कुँवर – पूर्व केन्द्रिय सदस्य
१७. माधव दुलाल – पूर्व केन्द्रिय सदस्य
१८. ध्रुव रावल पूर्व – केन्द्रिय सदस्य
१९. भिषण राई पूर्व – केन्द्रिय सदस्य
२०. माधव पौडेल – पूर्व केन्द्रिय सदस्य
२१. विकाश कार्की – पूर्व केन्द्रिय सदस्य
२२. कृति भट्टराई – पूर्व केन्द्रिय सदस्य
तपाइँको प्रतिक्रिया