बुधबार, भदौ ४, २०८२ |Wed Aug, 2025
अक्ल्याण्डको समय: १६:०७ |सिड्नीको समय: १४:०७ |काठमाडौंको समय: ०९:५२

अमेरिका पुगे महेश र अस्मिता, अगस्ट १० देखि ‘सोलफुल युएसए यात्रा’

एएनजेड खबरअगस्ट १०, २०२५

काठमाडौं । अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’का लागि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र भव्य बनाउन कुनै कसर बाँकी नराखेको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ ।

‘ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिने यस यात्रा अगस्ट १० गते बाल्टिमोर, अगस्ट १५ गते बोस्टन, अगस्ट १६ गते ब्रान्फोर्ड, अगस्ट २४ गते फिलडेल्फिया, अगस्ट २९ गते ह्यारिसबर्ग, अगस्ट ३० गते न्यु योर्क गते पिट्स्बर्ग, सेप्टेम्बर ५ गते सार्लेट, सेप्टेम्बर ७ गते मुल्वौकी, सेप्टेम्बर १३ गते नेब्रास्का , सेप्टेम्बर २० गते सेन्ट लुइस, सेप्टेम्बर २७ गते डालस, सेप्टेम्बर २८ गते ओकेसी लगायत २० भन्दा बढी शहरहरुमा तय भइसकेको छ ।

‘सोलफुल युएसए यात्रा’ घोषणा भए पस्चात आफूहरूलाई निकै नै उत्साहित प्रतिक्रियाहरू आइरहेको र अमेरिकामा रहेका नेपालीहरू माझ प्रस्तुति दिन पाउँदा निकै नै हर्षित रहेको महेश काफ्लेले बताए । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्री ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ।

साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिएफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

तपाइँको प्रतिक्रिया