सहयोग जुटाउन विराटनगर महानगरका मेयर अष्ट्रेलियाको भ्रमणमा
काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलियाको भ्रमणमा निस्किएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन उनी अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेललगायत महानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि कार्यालयमा विदाई गरेका थिए ।
महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्रोत परिचालनमा पहल गर्नेछन् । यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्था तथा सम्भावित दाताहरूसँग छलफल गरिने जनाइएको छ ।
अष्ट्रेलिया भ्रमणमा उनले सिड्नी, मेलबर्नलगायतका सहरहरूमा आयोजना हुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीच विराटनगरको समग्र विकासका लागि सहयोग जुटाउने उद्देश्यका साथ उनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाको सचिवालयले जनाएको छ ।
मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत गएका थिए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन भ्रमण गरेका थिए । इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर फर्किएका थिए ।
तपाइँको प्रतिक्रिया