बिहीबार, भदौ १९, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: ०४:२२ |सिड्नीको समय: ०२:२२ |काठमाडौंको समय: २२:०७

चीन भ्रमण सकेर फर्किए ओली : जापानविरुद्धको परेडमा सहभागिताबारे प्रश्न

एएनजेड खबरसेप्टेम्बर ४, २०२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्केका छन्। चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली नेपाल फर्केका हुन्।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा गत भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदी तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत उनले भेट गरेका थिए। उनले एससिओ सम्मेलनलाई सम्बोधन पनि गरेका थिए।

प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी भएका थिए।

ओलीको चीन भ्रमणका क्रममा राजधानी बेइजिङमा भएको जापानविरुद्धको विजय हासिल गरेको अवसर आयोजित ‘चिनियाँ भिक्ट्री परेड’ मा सहभागी हुनुलाई निकै आलोचनात्मक रुपमा हेरिएको छ । त्यहाँ उपस्थित रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुखहरूको सूची र नेपालको सहभागिता हेर्दा नेपालप्रतिको हेर्ने विश्‍व दृष्टिकोणप्रति आशंका बढाएको छ।

समाचार एजेन्सी एपीले सार्वजनिक गरेको तस्बिर हेर्दा पहिलो पंक्तिमा चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन छन भने ओली तेस्रो पंक्तिमा देखिन्छन्। यस सहभागिताले लोकतान्त्रिक विश्‍वसनीयता भएको नेपाल कतै ‘एन्टी वेस्टर्न एक्सिस’ को अंश बनेको त होइन भन्‍ने प्रश्‍न उठाएको छ। एससीओ बैठक र साइडलाइन भेटघाटमा निकै सक्रिय भएका भारतीय प्रधानमन्त्री मोदी भने उक्त परेडमा सहभागी भएनन्।

सैन्य परेडको सहभागितापछि दीर्घकालीन विकास साझेदार जापानलाई विश्वस्त बनाउने नेपालको जवाफ के हुन्छ भन्‍ने प्रश्‍नसमेत उठेको छ। यसअघि परेडमा सहभागी हुने निमन्त्रणा राष्ट्रपति रामचन्द्र पौडेलले अस्वीकार गरेका थिए।

त्यस्तै, एसीसीओ बैठकमा सहभागी हुने सरकार प्रमुखहरूमध्ये चिनियाँ राष्ट्रपतिलाई भेट्‍नेमा प्रधानमन्त्री ओली अगाडि नै थिए। ओलीको चीन भ्रमणअघि चीनसँग लिपुलेकमा नेपालको बेवास्ता गर्दै भारत र चीनले गरेको सहमतिको विषय उठाउनुपर्ने माग गरिएको थियो। ओलीले चिनियाँ राष्ट्रपतिसँग ‘लिपुलेक पास’बारे भारत–चीन बीचको समझदारीप्रति आपत्ति जनाएको भनिएको छ।

चिनियाँ राष्ट्रपति सीसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वी क्षेत्र नेपालकै सार्वभौम भूमि भएको र लिपुलेक प्रयोग गर्न चीन र भारतबीच कुनै समझदारी हुनु नहुने कुरा राखेका थिए। चीनलाई खुसी बनाउन प्रधानमन्त्री ओली जापानविरुद्ध लक्षित दोस्रो विश्वयुद्ध स्मृतिको सैनिक परेडमा सहभागी हुनुलाई निकै घातक मानिएको छ ।

तपाइँको प्रतिक्रिया