शुक्रबार, भदौ २७, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: १८:४६ |सिड्नीको समय: १६:४६ |काठमाडौंको समय: १२:३१

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने निश्चित

एएनजेड खबरसेप्टेम्बर १२, २०२५

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छिन् । लामो समयको छलफल र परामर्शपछि कार्कीलाई जेन–जी समूहको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री बनाइने तय भएको हो ।

प्रधानसेनापति अशोकराज सिग्देलले पटक पटक आन्दोलित जेन–जी समूहका विभिन्न नेताहरुसँग गरेको परामर्शपछि बसेको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेबारे छलफल भएको थियो ।

संविधानका संरक्षकको हैसियतले संविधानमा व्यवस्था नभएको भए पनि विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति मुलुकको हितका लागि कानूनविद्हरुको परामर्शपछि कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन तयार भएका हुन् ।

संविधानमा अन्तरिम सरकारको प्रावधान नभए पनि राष्ट्रपतिको विशेषाधिकारको प्रयोग गर्दै आवश्यकताको सिद्धान्तअनुसार सांसद नरहेकी पूर्व प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति पौडेलले अन्तरिम सरकारको जिम्मेवारी सुम्पिन थालेका हुन् ।

नेपालको संविधानको धारा ६१९४० अन्तर्गत “बाधा अड्काउ फुकाऊ” सम्बन्धी व्यवस्थामा “संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो” भन्ने छ । सोही धारा र व्यवस्थालाई आधार मानेर राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

बिहीबार भएको विभिन्न चरणको छलफलमा बहुसंख्यक जेन–जी समूहले कार्कीको नाममा सहमतिका थिए । तर सो नाममा कुन बाटोबाट प्रधानमन्त्री बनाउने भन्ने छलफल भएको थियो ।

त्यस्तै विभिन्न उपायबारे पनि छलफल भएको थियो । संसदले संविधान संशोधन गरेर अन्तरिम सरकारको व्यवस्था गर्ने छलफल पनि भएको थियो । त्यस्तै कार्कीलाई राष्ट्रिय सभामा मनोनित गरेर उनलाई संघीय संसदको सदस्य बनाएर प्रधानमन्त्रीको बाटो खुलाउने चर्चा पनि भएको थिष्यो ।

तर यसो गर्दा दुवै हिसाबले संविधान संशोधन गर्ने र यसको प्रक्रिया लामो हुने भएपछि दुवै प्रक्रियाबाट पछि हट्न राष्ट्रपति कार्यालयलाई सुझाव दिइएको थियो

संविधानको संरक्षकको हैसियतले संविधानमा व्यवस्था नभए पनि राष्ट्रपतिले विषम परिस्थितिको गाँठो फुकाउन संसद विघटन नगरिने गरी शुक्रबार बिहानै शितल निवासमा कार्कीको शपथ गराउँदै छन् ।

शपथपछि सोको जानकारी प्रतिनिधि सभालाई गराउने र प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले सांसदहरुलाई जानकारी गराउने छन् । शपथपछि मात्रै संसदले पनि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।
गत भदौ २३ गते जेन–जी समूहले गरेको आन्दोलनमा सरकारले दमन गर्दै १९ जना जेन–जीहरुलाई मारेपछि एकाएक परिस्थिति बदलिएको हो ।

त्यसको असर २४ गते देखिएको थियो । जहाँ राष्ट्रपति कार्यालयदेखि सिंहदरबार, संसद भवन लगायतका सरकारी कार्यालय, नेताहरुका निवास, व्यापारिक प्रतिष्ठान लगायत केही व्यक्तिहरुका घरहरुमासमेत आगो लगाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने २४ गते नै राजीनामा दिएका थिए । उनको राजीनामा सोही दिन नै राष्ट्रपतिले स्वीकृत गरेका थिए ।

त्यसपछि मुलुक पूर्णरुपले सेनाले नियन्त्रणमा लिएको छ । अहिलेसम्म सेनाका परमाधिपति राष्ट्रपति पौडेल भने सार्वजनिक भएका छैनन् ।

यद्यपि उनले बिहीबारमात्रै लिखित नोट सार्वजनिक गर्दै संवैधानिक प्रक्रियाबाटै अन्तरिम प्रधानमन्त्री चयन गरिने जनाएका थिए ।

तपाइँको प्रतिक्रिया