शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १६:०६

अहिलेका साथीहरुले चिथोर्ने खालको कलम बोकेको देखिदैन

एएनजेड खबरजुन ८, २०२४

किशोर नेपाल

आज मेरो जन्मदिनका अवसरमा मेरा प्रशंशामा साथी र भाइहरुका जति अभिब्यक्ति सुने,ं त्यसका लागि म कृतज्ञ छु । तर, ती अभिब्यक्ति अनुरुप म छु कि छैन ? ठहर्याउन सकेको छैन । हामीले नेपालको पत्रकारितालाई जुन विन्दुमा पुर्याउनुपर्ने थियो नेपाली समाजको परिवर्तनका लागि, त्यो काम हामीले गर्न सकेका छैनौ । नेपालमा किन वाल्टर लिपम्यान र नोम चोम्स्की जन्मिएनन ? जस्तो लाग्छ कहिलेकाहीं । लिपम्यान र चोम्स्की जस्ता विश्लेषक किन देखापर्न सकेनन जस्तो लाग्छ कहिले कही । साथीभाइहरुले खाली अमेरिकनलाई मात्र सम्झियो भन्नुहोला । तर त्यसो होइन । भारतका खुशवन्तसिंह, दिलिप पडगाँवकर, कुलदीप नायरजस्ता बिचारक–पत्रकार किन जन्मिएनन जस्तो लाग्छ कहिलेकाहीं । साहूजैन र रामनाथ गोयन्काजस्ता ब्यक्तित्व किन व्यवसायमा आउँदैनन ? नेपालका संचार ब्यबसायीहरु किन सँधै विवादमा आउँछन ? प्रश्नहरु मनमा खेल्न थाल्दछन अनगिन्ती ।

संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली पत्रकारिता व्यवसायिक भएको छ । यो सही कुरा हो । पत्रकारिता ब्यबसायले नाफा कमाउनु पर्छ, त्यो पनि सही कुरा हो । नाफा नकमाए पत्रकार तथा संस्थाका कर्मचारीहरुलाई कसरी तलव र सुविधा दिने ? तर पत्रकारिताले आफ्नो देश, सबै नेपाली भाषा र नेपालका जनताप्रति सम्मान जगाउनसक्नुपर्छ । यो मुख्य कुरा हो । 

आजको समाज विश्रृखंल छ । बुद्धिजीविहरुसँग र अरु साथीहरुसँग साँझपख कफी खाँदै कुरा गर्यो भने सामाजिक संजालले हामीलाई वर्वाद गर्यो भन्छन् । मलाई के लाग्छ भने सामाजिक संजालले हामीलाई वर्वाद गरेको छैन । हामीले हामी आफैलाई वर्वाद गरिरहेका छौं । किनभने यो देशमा यत्रो बर्ष भइसक्यो, म नै ७२ बर्षको भइसकें, दमन(दमननाथ ढुंगाना) दाई कति बर्षको भइसक्नुभयो । देशमा, पंचवर्षीय योजनाहरु आएका छन । राणाबाट परिवर्तन, राजाबाट परिवर्तन त्यसपछि राजालाई समाप्त गरेर अहिले हामी संघीय गणतन्त्रमा छौ ।

यति ठूला परिवर्तन हुँदापनि हाम्रो देशका जनताले राम्रोसंग एकछाक खान पाएका छैनन् । कामको खोजमा खाडी लगायतका अन्य देशमा भौतारिनु परेको छ । यसलाई हामी हाम्रो योग्यता भनौं ? यत्रो हराभरा वातावरण भएको, बिशाल नदीहरुले घेरिएको समृध्द देशमा हामी नेपाली जनता किन चरम गरिबीमा बाँचिरहेका छौं ? किन गरिबीको पनि पिंधमा बाँच्न बाध्य छौं हामी ? यो कुरालाई हामीले सोच्नुपर्छ । यस्तो गरिबीमा बाँच्ने मानिसहरुले सामाजिक संजाल मार्फत आफनो कुण्ठा ओकल्ने र आफैंप्रति व्यग्य गर्ने मौका पाएका छन । २००७ सालदेखि अहिलेसम्म देशमा भएको परिवर्तनको प्रतिफल जनताले पाएनन । सामाजिक संजालले उनीहरुलाई कुण्ठा व्यक्तगर्ने स्थान दिएकोछ । व्यवयायिक पत्रकारिताले आफ्नो कर्तब्य पूरागर्न नसकेपछि यस्तो अवस्था आउनु अस्वाभाविक होइन ।

मलाई के लाग्छ भने हामी पत्रकारहरुले गरीव जनताको पक्षमा आपूmलाई सक्रिय र सक्षम बनाउन सकेका छैनौं । हामी पत्रकारहरुले स्वाभिमानका साथ जनताको पक्षमा कामगर्ने हो भने राजनीति आफनो तहमा आउन बाध्य हुन्छ । राजनीतिक नेताहरुको घाँटीमा नैतिकताको डोरी कस्ने काम हामीले नै गर्ने हो ।

मेरो कुरा गर्नुहुन्छ भने, पत्रकारिताकै सिलसिलामा म पहिलेको ७५ र अहिलेको ७७ जिल्लाको टुप्पामा पटक पटक पुगेको छु । सबै जिल्लामा मेरा कर्मठ साथीभाइहरु छन् । ती मध्ये कतिपयका लागि पत्रकारिताको पेशा नै बाध्यता बनेकोछ । मेरा धेरै सक्षम पत्रकार भाइहरु पछिल्लो समयमा पालिका र सरकारी निकायका हाकिमहरुको प्रेस सल्लाहकार बसेका छन् । यो अस्वाभाविक होइन । पत्रकारिता व्यवसायिकता हुन नसकेपछि कुनै न कुनै व्यवसाय गरेर ज्यान त पाल्नैपर्छ । जानेको त्यही छ, पत्रकारिताको काम । जनसम्पर्कको काम । हिजो जनताको रिर्पोटिङ गर्ने साथीहरु अहिले नेताको रिर्पोटिङ गर्न थालेका छन । यो उनीहरुको चाहना वा मनसाय होइन, बाध्यता हो ।

हाम्रा आदर्शहरु स्खलित भएका छन्, हामीले आदर्शको बाटो पहिल्याउनै नसक्ने भएका छौं । हाम्रो राजनीतिले कुनै दिशाबोधगर्न सकेको छैन । हाम्रा राजनीतिक दलहरुले कुनै मार्गदर्शन गर्न सकेका छैनन । जनयुद्ध लडेर आएका प्रधानमन्त्री पाएका छौं, तीन तीन पटक । दुई पटक त उहाँ दायाँ र बायाँ पल्टिइ सक्नुभयो, तै, अहिलेसम्म जनताले उहाँलाई पल्टुरामको नाम दिएका छैनन् । भोलि फेरि यही दोहोरिन्छ । त्यो निश्चित नै छ । यस्तो अव्यवस्थालाई सम्हाल्न नसक्ने नेता र सत्ताको कुनै काम छैन । राजनीतिक दलको पनि काम छैन ।

हिजो पहिलो जन आन्दोलनका प्रारम्भमा सर्वमान्य नेता गणेशमान सिंहबाट प्रेरित भएर मदन भण्डारीले मनमोहन अधिकारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी गठन गर्नु भएको थियो । त्यो एकताबाट कांग्रेस र एमाले मिलेर देश बनाउने सन्देश प्रसारित भएको थियो जनताको बीचमा । आजको मितिसम्म कांग्रेस र एमाले मिलेर देशको बिकासमा खास योगदान दिन सकेनन् ।

शासन व्यवस्था सुव्यवस्थित गरेर लान नसकेको यो पहिलो पटक होइन । एकतन्त्रीय शासन व्यवस्थाबाट वहुदलीय शासन व्यवस्थामा कसरी लैजाने भन्ने परिकल्पना कसैसंग थिएन । जोसँग परिकल्पना थियो त्यसलाई पाखा लगाइयो । धेरैकारणले हामी पत्रकारहरु बढी सचेत हुनुपर्छ, बढी विवेकशील हुनुपर्छ । हाम्रो शासन सत्तामा बस्नेहरुलाई घोची रहनु पर्दछ र घचघच्याइ रहनुपर्छ । घचघच्याएर भएन भने चिथोर्नै पर्छ कलमले ।

अहिले साथीभाईहरुले चिथोर्ने खालको कलम बोकेको देखिदैन । मसी कलमभित्र सुकेको जस्तो लाग्छ । मसी सुक्न नदिनुहोला । मसीलाई मात्र सुक्न नदिएर राख्नुभयो भने अक्षरले क्रान्ति गर्ने हो, बन्दुकले क्रान्ति गर्नेहरुको नियत र हालत हामीले देखि हाल्यौं । आजसम्म अक्षर बिनाको क्रान्ति देखिएको छैन । कार्ल माक्र्सले ‘दास क्यापिटल’ नलेखेको भए कम्युनिष्ट क्रान्ति हुदैन थियो होला । क्रान्ति अक्षरले नै गर्ने हो, विचारले नै गर्ने हो ।

नेपालको समुन्नतिका लागि, परिवर्तनका लागि वातावरणको निर्माण नेताहरुको भाषणले होइन पत्रकारहरुको चिन्तनले, तिखो प्रहार आवश्यक हुन्छ । साथीहरुले आत्म–विश्वास राख्नुहोस । तपाईहरु सबैले जसरी मलाई माया गर्नुभयो, केक खुवाउनुभयो, खादामाला लगाइदिनुभयो, उपहारहरु दिनुभयो, त्यसरी नै जनतालाई सुविचारको उपहार दिनुहोस । संघ संगठनका साथीहरुसँग हात मिलाएर बस्नु भयो भने कुनैपनि बेला जुरुक्क उठेर यहाँका दुर्जनहरुसँग लड्न सक्ने क्षमता विकसित हुनेछ । यो भन्दा बढी म भन्न सक्दिन । भन्न पनि चाहन्न । लेख्न नसक्ने भए भन्नेथिए । पछि भन्दै गरौंला, तपाइँहरुसँग गफ गर्दै गरौंला । मलाई माया र स्नेह दिनुभयो । दिइरहनुभएको छ, मैंले पाइरहेको छु र जीवित छु । तपाइँहरुलाई देखेपछि, तपाईहरुसँग काम गर्न मन लाग्छ । डाँडाकाँडा घुम्न मन लाग्छ । रहर जागेर आउँछ । उमेरले सबैकुरा धान्न सक्दैन । उमेरको अंक ७२ लाई उल्ट्याएर, २७ को जस्तो काम गर्ने चाहना छ ।

मेरा मित्र प्राध्यापक पी खरेल, कुशलतम पत्रकार राजेन्द्र दाहाल, मेरा मित्र तथा नेपाल पत्रकार संघलाई महासंघको आकार दिनुहुने हरिहर विरही, मेरा भाई जयप्रकाश गुप्ता र मेरा स्नेही सबै यहाँ उपस्थित हुनुहुन्छ । आदरणीय दमननाथ दाई यो सभाको अन्तिम समयमा भएपनि यहाँ आएर मलाई आशीर्वाद दिनु भएको छ । म गदगद छु, सबैलाई हार्दिक धन्यवाद छ । बिशेष गरेर यो आयोजनाका परिकल्पनाकार भाईहरु सुवास ढकाल, बिष्णु निष्ठूरी र सन्तोष आचार्यको मेहनतका लागि कृतज्ञ छु । (आफ्नो जन्मोत्सवको अवसरमा २०८१ जेठ २४ मा भएको शुभकामना सभामा व्यक्त विचार)

तपाइँको प्रतिक्रिया