शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०६ |सिड्नीको समय: १६:०६ |काठमाडौंको समय: ११:५१

‘मिस पिंक २०२४’अन्तिम तयारी, अधिकारका लागि सन्देश प्रवाह गरिने

एएनजेड खबरमे १२, २०२४

काठमाडौं । ट्रान्स वुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को सातौं संस्करण आगामी ३ जेठमा काठमाडौंमा हुने भएको छ ।

नील हिरा समाजले शनिबार काठमाडौको त्रिपुरेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै २०२४ का लागि मिस पिंक आयोजना गर्न लागिएको जनाएको हो । लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । सो कार्यक्रममार्फत समुदायलाई थप शसक्त बनाउने र कुशल नेतृत्वको विकास गर्ने उद्देश्य लिइएको छ।

पत्रकार भेटघाटमा समाजकी अध्यक्ष गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव वढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना गर्दै आएको जानकारी दिइन ।

‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन् । कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समूदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रश्तुत गर्ने तालिका छ ।

कार्यक्रममा सहभागिताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रम सहभागिताका लागि काठमाडौ उपत्यका भित्र र बाहिरबाट गरेर ३० जनाले अनलाइन प्रबिधिमार्फत फाराम भरेको समाजले जनाएको छ । उनिहरुमध्येबाट १८ जना छनौट भएका थिए भने उनिहरुलाई १७ दिनको तालिम प्रदान गरिएको थियो । अन्तिम प्रतिस्पर्धामार्फत भने एक जनाले मिस पिंकको उपाधी हात पार्नेछन ।

यसै सिलसिलामा मिस पिंकमा सहभागी १८ प्रतियोगीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर समूदायका समस्याबारे जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री लामिछानेले हरेक व्यक्तिले आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सरकार सचेत रहेको बताए ।

निलहिरा समाजकी अध्यक्ष गुरुङको अगुवाइमा गएको प्रतिनिधि मण्डसँग गएको सिंहदरबारस्थित कार्यकक्षमा भेटघाट गर्दै उनले त्यस्तो बताएका हुन्। ‘यो समाजमा मेरो जति अधिकार छ, तपाईंहरूको पनि त्यति नै छ। हरेक व्यक्तिले आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु। सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसंख्यकको सम्मान हुँदैन, त्यो समाज बस्नयोग्य हुँदैन,’ उनले भने। उनले सरकार नागरिकतासम्बन्धी कार्यविधिमा छलफल गर्ने तयारीमा रहेको पनि बताएका छन्।

तपाइँको प्रतिक्रिया