सोमबार, वैशाख २९, २०८२ |Mon May, 2025
अक्ल्याण्डको समय: ०१:०६ |सिड्नीको समय: २३:०६ |काठमाडौंको समय: १८:५१

वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीको मृत्यु

एएनजेड खबरडिसेम्बर १४, २०२३

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ।

वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रुपैयाँ दिने गरेको छ। मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रुपैयाँ प्रदान पनि गरिएको छ।

नेपाली युवाहरुका लागि खाडीका ६ वटा देश कतार, युएई, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा रोजाइमा पर्ने गरेका छन् । त्यस्तै धेरै कामदार जाने अर्को देश भनेको मलेसिया हो। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार कामका लागि विदेश पुगेकामध्ये मृत्यु हुनेमा हालसम्म सबैभन्दा धेरै मलेसिया रहेको छ।

गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा भने छैन।

तपाइँको प्रतिक्रिया