मंगलबार, भदौ ३१, २०८२ |Tue Sep, 2025
अक्ल्याण्डको समय: ०७:५४ |सिड्नीको समय: ०५:५४ |काठमाडौंको समय: ०१:३९

जेनजी आन्दोलन : असोज १ गते शोक दिवस र सार्वजनिक बिदा

एएनजेड खबरसेप्टेम्बर १६, २०२५

काठमाडौँ । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको बताए ।

उनकाअनुसार सरकारले आन्दोलनमा मृत्यु भएकाका परिवारलाई १० लाख राहत र अन्य खर्च बापत ५ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । घाइतेहरुको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकप्टर वा सवारी साधन उपलब्ध गराउने निर्णय भएको छ ।

दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले बताए । आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीको उच्चस्तरीय न्यायिक छानबिन आयोग (न्यायिक जाँचबुझ आयोग)गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

त्यस्तै आन्दोलनका क्रममा निधन भएकाहरुको स्मरणमा जेन–जी जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ । त्यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा निर्णयका लागि मन्त्रिपरिषदमा पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया