सिड्नीमा आध्यात्मिक महोत्सव : हजारौंको सहभागिता, लाखौ डलरको प्रतिवद्धता

सिड्नीमा सुरु भएको तिन दिने आध्यात्मिक महोत्सवको पहिलो दिन शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। बिहानैदेखि बरउड पार्कमा संगीत, रंग र आध्यात्मिक ऊर्जाले वातावरण भरिएको थियो। १२०८ कलश यात्रामा पन्चकन्या, पन्चे बाजा र परम्परागत झाँकिहरु सहभागी हुँदा पार्क साँच्चै संगीतमय बनेको थियो। सिड्नीमा स्थापित ५० भन्दा बढी सामुदायिक संघसंस्थाका प्रतिनिधिहरु र करिब १५०० भन्दा धेरै सहभागीले यात्रालाई ऐतिहासिक बनाएका थिए।
कलश यात्रापछि आयोजित औपचारिक कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल बहादुर मगरले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे। एनएसडब्लु प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव माननीय मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रिका प्रतिनिधि जेसन यात-सेन लि, संघीय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट र एनआरएनए अध्यक्ष अनिल पोख्रेलले पनि शुभकामना मन्तव्य दिएका थिए।

महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्ध धर्मगुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीन बन्धु पोख्रेलबाट आशिर्वाद वाचन भएको थियो। साथै भरतनाट्यम र अन्य धार्मिक–आध्यात्मिक नृत्य प्रस्तुति पनि गरिएको थियो।

यस महोत्सवको विशेषता भनेकै सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियान हो। पहिलो दिनमै दाताहरुले करिब ४ लाख अष्ट्रेलियन डलर दान गर्ने प्रतिबद्धता जनाएका छन्। यस क्रममा GSNMC अध्यक्ष बिष्णु हमाल र सपना हमाल, उपाध्यक्ष उमेश पन्त र सिर्जना पन्त, साथै AIA अष्ट्रेलियाका निर्देशक समाजसेवी सुभान्स साहले आ-आफ्नो तर्फबाट एक–एक लाख डलर दिने प्रतिवद्धता व्यक्त गरे। महेन्द्र लम्साल र लता लम्सालले २५ हजार, सुजित र साधना सिग्देल, बिष्णु र अन्जु घिमिरे, मिना र शुबर्ण शर्मा, प्रकाश र सिर्जना बस्ताकोटी, अमृत र रमा आचार्य, कल्याणी र बिनोद बर्तौला तथा प्रतिज्ञा अधिकारीले जनही १० हजारका दरले योगदान गर्ने घोषणा गरे। त्यस्तै सुमन बर्तौला र सिर्जना सिग्देलले ५ हजार दिने प्रतिवद्धता जनाए।
समाजसेवी देब गुरूंगले भने, “हाम्रो पुस्ताले उठाएको यो अभियान भविष्यका पुस्ताको पहिचान र एकताको जग हो। आजको सहभागिता देख्दा भविष्यमा यो केन्द्र सहजै निर्माण हुने विश्वास बढेको छ।” प्रमुख दातामध्ये एक महेन्द्र लम्सालले भने, “हामी सबैको सपना एउटै छ—विदेशमा बस्दा पनि आफ्नै समुदायको केन्द्र होस्। यो महोत्सव त्यस सपनाको थालनी हो।”
कार्यक्रममा सक्रिय भूमिका खेल्दै आएका सुर्यभक्त खनालले भने, “धार्मिक र सांस्कृतिक कार्यक्रम मात्र होइन, यो हाम्रो सामूहिक प्रतिबद्धताको प्रदर्शन हो। यसमा देखिएको एकता सिड्नीको नेपाली समाजको शक्ति हो।” युवा अभियन्ता प्रतिज्ञा अधिकारीले भनिन्, “हामी युवाहरुले पनि आफ्नो तर्फबाट योगदान दिन पाउनु गर्वको कुरा हो। यो केन्द्र हाम्रो पुस्ताका लागि मात्र होइन, आगामी पुस्ताका लागि उपहार हुनेछ।”

पहिलो दिनकै अन्त्यमा १५ जनाले आजीवन सदस्यता ग्रहण गरे भने नगद दान पेटिकाबाट मात्र $२०१० संकलन भएको थियो। शनिबार र आइतबार साँझसम्म निरन्तर चल्ने यो महोत्सवमा उपस्थित भई बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा हातेमालो गर्न आयोजक संस्था GSNMC ले सबैलाई हार्दिक आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया