मंगलबार, भदौ १०, २०८२ |Tue Aug, 2025
अक्ल्याण्डको समय: २२:१४ |सिड्नीको समय: २०:१४ |काठमाडौंको समय: १५:५९

सिड्नी आध्यात्मिक महोत्सवको तयारी पूरा, ११२५ महिलाले गरे कलश यात्रामा नाम दर्ता

एएनजेड खबरअगस्ट २४, २०२५

सिड्नी । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आयोजना गर्ने सिड्नी आध्यात्मिक महोत्सव आगामी २९ अगस्टदेखि ३१ अगस्टसम्म भव्य रूपमा सम्पन्न हुने अपेक्षा आयोजकले गरेका छन्। आयोजकले सिड्नीमा गरेको पत्रकार सम्मेलनमा महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको र हालसम्म ११२५ जनाले कलश यात्रामा नाम दर्ता गरिसकेको जानकारी दिएका छन्।

मार्की होमको मुख्य प्रायोजनमा हुन लागेको महोत्सवमा देखिएको उत्साहपूर्ण चासोले सिड्नीवासी नेपाली समुदायको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको भावना झल्किएको आयोजकको भनाइ छ।

कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष विष्णु हमालले नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको बताए। उनले सेन्टरलाई “मिनी नेपाल” को रुपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गर्दै हाल जग्गा र पूर्वाधार निर्माणका लागि करिब ५ मिलियन अष्ट्रेलियन डलर आवश्यक पर्ने बताए। उनका अनुसार हालसम्म ५७० सदस्य भइसकेका छन् भने, आगामी दिनमा सदस्य संख्या ५ हजार पुगेपछि जमिन खरिद गर्ने र त्यसपछि सरकारी अनुदानका लागि पहल गर्ने योजना रहेको छ।

त्यस्तै, वाचन शिरोमणि दिनबन्धु पोखरेलले पत्रकार सम्मेलनमा बोल्दै महोत्सवमा सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आह्वान गरे। उनले वैदिक र बौद्ध दुवै परम्पराका गुरुहरूलाई एउटै मञ्चमा ल्याएर “हाम्रो एकता, हाम्रो सामाञ्जस्यता, सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुता” प्रस्तुत गर्ने महोत्सव सफल हुने विश्वास व्यक्त गरे।

तपाइँको प्रतिक्रिया