भिजिट भिसा प्रकरणबारे संसदमा बोले गृहमन्त्री, रास्वपालाई लगाए गम्भीर आरोप
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखेर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजेको थाहा पाइसकेको बताएका छन्।
शुक्रबार १८ दिनपछि कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका उनले उल्टै रास्वपामाथि आरोप लगाएका हुन्।
‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्,’ उनले भने, रास्वपाको नाम उल्लेख नगरी उनले भने, ‘कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।’
लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी पनि गरे । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन्।
ुविगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,’ उनले भने, ‘धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे।
तपाइँको प्रतिक्रिया