सोमबार, मंसिर २४, २०८१ |Tue Dec, 2024
अक्ल्याण्डको समय: ०२:१२ |सिड्नीको समय: ००:१२ |काठमाडौंको समय: १८:५७

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त, यस्तो छ उनको कार्ययोजना

एएनजेड खबरनोभेम्बर २५, २०२४

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवला अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राजदूतमा नियुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अशोजको दोस्रो साता संसदीय सुनुवाइ समितिले यादवको नाम अनुमोदन गरेको थियो । त्यसबेला उनले कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी थिइन् ।

त्यसक्रममा उनले आफू राजदूत भएमा दूतावासको आफ्नै भवन निर्माण कार्यलाई आरम्भ गरी सम्पन्न गर्ने गराउनेतर्फ विशेष पहल गर्ने पनि बताएकी थिइन । ‘मैले नेपाल र अस्ट्रेलिया र सह प्रमाणीकरण भएका राष्ट्रहरूको बिचमा स्थापित बहुआयामिक र बहुपक्षीय सुमधुर सम्बन्धलाई नेपालको बृहत्तर राष्ट्रिय हित अभिवृद्धि गर्ने गरी अझ बढी सुदृढ बनाउन अधिकतम कोसिस गर्नेछु’, यादवले कार्य योजनामा भनेकी छन्, ‘राजदूतको हैसियतले काम गर्दा उपलब्ध अवसरहरूको सदुपयोग गरेर नेपाल सरकारको उद्धेश्य सफल बनाउन सक्रिय रहने छु ।’

उनले नेपाल र अष्ट्रेलियाबिचको विश्वास, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनेमा जोड दिँदै नेपाल र नेपालीको हित आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएकी थिइन ।

तपाइँको प्रतिक्रिया