बुधबार, कार्तिक २१, २०८१ |Wed Nov, 2024
अक्ल्याण्डको समय: १२:३९ |सिड्नीको समय: १०:३९ |काठमाडौंको समय: ०५:२४

अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्यो, विश्वविद्यालयहरुमा कर्मचारी कटौती

एएनजेड खबरअक्टोबर ६, २०२४

सिड्नी । अष्ट्रेलिया सरकारको नयाँ नीतिका कारण अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनमा कमी आएको छ। विद्यार्थीको सँख्या कमी भएसँगै विश्वविद्यालयहरुले आफ्नो कर्मचारी कटौती गर्न थालेका छन् ।

सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो । सोही नीतिका कारण आवेदन घटेको नाइन इन्टरटेनमेन्टले प्रकाशन गरेको शिक्षा विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो सङ्ख्या सन् २०२३ को अगस्ट ९३० हजार ७०३० को आधा हो ।

अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा १८ हजार ६९७ विद्यार्थीले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीले आवेदन दिएका थिए।

हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट बढाएर एक हजार ६०० पुर्‍याएको छ ।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदन जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ ।

यसैगरी, फिलिपिन्सको आवेदन सङ्ख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशतभन्दा कमले घटेको छ।

सरकारले सन् २०२५ बाट झन् ४० प्रतिशत मात्रै अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने नियम प्रस्ताब गरेपछि विश्वविद्यालयहरुमा अन्यौलता देखिएको छ ।

युर्निभसिटी अफ सिड्नीले पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा अस्ट्रेलिया आउन नसक्दा त्यसको असर विश्वविद्यालयको आर्थिक स्रोतमा समेत परेको भन्दै कर्मचारी कटौतीको प्रस्ताब अघि सारेका हुन् ।

संघीय संसद्मा शिक्षा मन्त्रायलयले सन् २०२५ मा विश्वविद्यालयहरुले ४० प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न पाउने प्रावधान प्रस्ताब गरेकै समयमा सिड्नी युर्निभसिर्टीले कर्मचारी कटौतीको योजना अघि सारेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया