शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १४:१२ |सिड्नीको समय: १२:१२ |काठमाडौंको समय: ०७:५७

टी–२० विश्वकप क्रिकेट : नेपालको खराब शुरुवात, अब श्रीलंकासँग खेल्ने

एएनजेड खबरजुन ५, २०२४

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ ।

१०७ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको हारको कारण खराब फिल्डिङ्ग पनि रह्यो । केही क्याच खेलाडीले छाडेका थिए ।

म्याक्स ओ’डोडले अविजित रहँदै ४८ बलमा ५४ रन बनाएको इनिङस्मा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । सोमपालले एक खेलाडीलाई रन आउट गरेका थिए ।

यसअघि अमेरिकाको डालास मैदानमा बुधबार बिहान बाह्रौँ खेलाडीका रुपमा १५ हजार नेपाली समर्थकबीच खेलेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि टी–२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएर आउट भए । ५ चौका प्रहार गर्दै सम्हालिएर खेल्दै आएका रोहित गलत प्रहारका कारण पभेलियन फर्किनुपर्यो ।

उनले व्यक्तिगत २ रन बनाउँदा अम्पायरले आउट दिएको भए पनि रिभ्यु लिएर बचेका थिए । करण केसीले १२ बलमा २ छक्काको मद्धतले १७, गुल्सन झाले १५ बलमा १ छक्काको मद्धतले १४ रन बनाए ।

त्यस्तै अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए ।

सन् २०१४ को विश्वकप खेलेका एकमात्र खेलाडी रहेको यो टिमका अनुभवी खेलाडी सोमपाल कामी भने ६ बलमा रनको खाता नै नखोली आउट भए । सागर ढकाल पहिलो बलमै डकआउट भए ।

नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३–३ तथा पल भान मिकेरेनले र बास डे लिडे २–२ विकेट लिए ।

समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । यो हारसँगै अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ७ तथा नेपालले ५ खेल जितेको छ ।

यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

अब नेपालले जेठ ३० गते (जुन १२ तारिख) बिहान ५ः१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५ः१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।

तपाइँको प्रतिक्रिया