शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:५६ |सिड्नीको समय: १४:५६ |काठमाडौंको समय: १०:४१

सन्दीप लामिछानेले भिसा नपाएपछि क्यानविरुद्ध खनिए समर्थक, रहस्यमय छ कारण

एएनजेड खबरमे ३१, २०२४

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ। दूतावासले बिहीबार सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाए पनि भिसा नदिई फर्काइदिएको हो। भिसा नपाएपछि सम्बन्धित निकायमाथि प्रश्नहरु उठ्न थालेका छन् ।

यससँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पनि बिहीबार नै विज्ञप्ति निकालेर सन्दीपले भिसा नपाएको जानकारी गरायो।

विज्ञप्तिमा विश्वकपका लागि सन्दीपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, क्यान साथै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट आवश्यक पहल भएपनि भिसा नदिएको उल्लेख गरिएको छ।

यसअघि जेठ ९ गते पनि दूतावासले सन्दीपलाई भिसा नदिई फर्काइदिएको थियो। नेपाली टोलीसँग जोडिन सन्दीपले अमेरिकाको भिसाका लागि यो समेत दोस्रो पटक आवेदन दिएका हुन्।

भिसा नदिएको वा सन्दीपले भिसा नपाएको कारण अमेरिकी दूतावासले अमेरिकाको कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू सार्वजनिक गर्न मिल्दैन बताइएको छ। तर, यसको कारण अहिले नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो १५ सदस्यीय क्रिकेट टोलीमा समावेश नगरेकोलाई मान्नुपर्ने हुन्छ।

क्यान कार्यसमिति र क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले यो सबै खेलको जिम्मेवारी लिनुपर्ने देखिन्छ। कार्यसमितिलाई पन्छाएर अहिले व्यवस्थापनमा बढी सक्रिय भएकाले बढी दोष उनीहरूलाई नै जान्छ। अन्तर्राष्ट्रिय नियममा एउटा प्रारम्भिक टोलीको नाम शुरूमै पठाउने प्रावधान भएपनि प्रतियोगिता हुनुभन्दा ४८ घण्टा अगाडि मात्र खेलाडीको अन्तिम नामावली ड्राफ्ट हुन्छ । त्यसलाई नै अन्तिम मानिन्छ। त्यसैले सन्दीपले सफाइ पाइसकेपछि प्राथमिकतामा राखेर १५ सदस्यीय टोलीको अन्तिम ड्राफ्टमा उनलाई समावेश गरिनुपर्थ्यो । तर, क्यानले त्यसो गरेको देखिँदैन ।

नेपालको राष्ट्रिय टोलीमा नै समावेश नभएको खेलाडीलाई अमेरिकाले कुन आधारमा भिसा दिन्छ भनेर प्रश्न उब्जिएको छ। आयोजक राष्ट्रको नाताले अमेरिकाले त्यहाँ खेल्न जाने क्रिकेट टोलीलाई भिसा दिनुपर्ने अनिवार्य शर्त छ । तर, टोलीको सूचीमा नै नाम नभएको व्यक्तिलाई के को आधारमा भिसा दिने भनेर प्रश्न उठ्नु स्वाभाविक हो । यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।

क्यानले सन्दीपको नाम १५ सदस्यीय टोलीमा राख्ने बित्तिकै आयोजक देशको नाताले अमेरिकाले भिसा दिन बाध्यकारी अवस्था बन्छ। किनकी आईसीसीले सन्दीपको नाम टोलीमा सूचीकृत गर्ने बित्तिकै स्टेट डिपार्टमेन्टले भिसा प्रक्रियाको लागि उच्च तहबाट निवेदन गरेर प्रक्रिया सहज बनाउँछ। तर, क्यानले भिसा दिएन भन्दै मन्त्रालयमा धाउने तर नामचाहिँ टोलीमा सामेल नगरी हात्तीको खाने र देखाउने दाँत जस्तै द्वैध चरित्र प्रस्तुत गरेको छ।

क्यानको अहिलेको नेतृत्व विशेषगरी अध्यक्ष चन्द र सचिव खड्काले १५ सदस्यीय टोलीमा सन्दीपको नाम किन नराखेको रहस्यमय छ। उनीहरूले सन्दीपको विषयमा गम्भीर छौं भनिरहँदा ब्यवहारमा चाहिँ त्यो लागू भएको देखिँदैन । त्यसैले अहिले बनावटी कुरा गरिरहेको क्यान व्यवस्थापनले सन्दीप राष्ट्रिय खेलाडी हुन् कि होइनन् भनेर प्रष्ट पार्नुपर्छ । यदि हो भने टोलीमा नाम समावेश गरिनुपर्थ्यो। नत्र अमेरिका र नेपालको सम्बन्धलाई सन्दीपकै कारणले सडकमा नारा जुलुसको बिषय बनाउन मिल्दैन ।

खेल विश्लेषक एवम पत्रकार नवीन अर्याल क्यानको गल्ती देखाउँछन् । ‘अमेरिकाले भिसा नदिएको अथवा सन्दीपले भिसा नपाएको कारण के हो भने सन्दीपलाई अहिले नेपाल क्रिकेट संघले आफ्नो १५ सदस्य क्रिकेट टिममा समावेश गरेको छैन । क्यानको कार्य समिति र विशेष क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले यो सबै खेलको जिम्मेवारी लिनुभएको छ । कार्यसमितिलाई पनि पन्छाएर जसरी उहाँहरु व्यवस्थापनमा खटिनुभएको छ । त्यसैले यसमा सबैभन्दा बढि दोष म उहाँहरुको देख्छु । उहाँहरुले अमेरिका र नेपालको जुन ‘पिपुरल्स टु पिपुल्स’ सम्बन्ध थियो । त्यसलाई पनि अहिले बाटोमा आएर गालिगलौजको अवस्थामा ल्याइपुर्याइ दिनुभयो,’ उनले भने ।

उनले अगाडि भने,‘सन्दीपले सफाइ पाइसकेपछि उनलाई फाइनल ड्राफ्टमा नेपालको नं १ खेलाडी भएको कारणले गर्दा पनि प्राथमिकतामा राखेर १५ सदस्यीय टिमको घोषणा गर्नुपथ्र्यो । तर क्यानले आजसम्म त्यो गरेको छैन । अमेरिकाले अब नेपालको राष्ट्रिय टिममा नै समावेश नभएको खेलाडीलाई कसरी भिसा दिने, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । क्यानको अहिलेको नेतृत्व विशेषगरी चतुरबहादुर चन्द र पारस खड्काले १५ सदस्यीय टिममा उनको नाम किन नराखेको यो नै रहस्यमय छ ।’

नेपालले जुन २ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी २० विश्वकपमा सहभागिता जनाउँदैछ। त्यसका लागि नेपाली टोली अमेरिका पुगिसकेको छ। नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको थालनी गर्नेछ।

तपाइँको प्रतिक्रिया