शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१३ |सिड्नीको समय: १६:१३ |काठमाडौंको समय: ११:५८

लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित

एएनजेड खबरमे ३१, २०२४

लन्डन । बेलायतको लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित भएका छन् । उनले एक समारोहबिच बुधबार साँझ एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।

लेबर पार्टीका उनलाई गत साता सम्पन्न बरोको साधारण सभाले सर्वसम्मत रूपमा मेयरमा निर्वाचित गरेको थियो । सोहीक्रममा बरोका निवर्तमान मेयर काउन्सिलर डा। डोमिनिक एमब्याङले मेयरले लगाउने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए । यसअघि रानाभाट बरोको उपमेयर थिए । त्यसअघि उनी सन् २०२२ मा काउन्सिलरमा निर्वाचित भएका थिए ।

शपथ ग्रहणपछि उनले बेलायत नेपाल र ब्रिटिस गोर्खाबिचको लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट छानेको बताए । कोभिड समयमा उल्लेखनीय योगदान गरेबापत ग्रिनबिच र बेक्सले बरोबाट ‘लकडाउन हिरो’ भइसकेका मेयर रानाभाटले सामाजिक सदभाव कायम राख्दै सांस्कृतिक विविधतायुक्त बरोमा सबै समुदायसँग सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

शपथग्रहण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती राजपरिवारका प्रतिनिधि समेत रहेका ग्रिनबिच बरोका डेपुटी लेफ्टिेन्ट, बरोका उच्च अधिकारी र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो । सोही अवसरमा रानाभाटकी श्रीमती गौमाया गुरुङलाई मेयरेस घोषणा गरिएको थियो ।

बेलायतमा काउन्टी, डिस्ट्रिक, बरो, सिटी, टाउन, र पेरिस काउन्सिल गरी विभिन्न स्थानीय तह रहेका छन् । जसको केहीमा प्रत्यक्ष निर्वाचित मेयर तथा केहीमा काउन्सिल लिडरको कार्यकारी अधिकार रहने गर्दछ । लण्डनभित्र ३२ वटा बरो रहेका छन् ।

तपाइँको प्रतिक्रिया