शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:४० |सिड्नीको समय: ०१:४० |काठमाडौंको समय: २१:२५

पूर्व युबराज्ञी हिमानी, पूर्व अधिराजकुमारी द्वय शिताष्मा र दिलाशा सहितको टोली सिड्नी आउदै

एएनजेड खबरजुलाइ २४, २०२२



हिमानी कोष अष्ट्रेलियाको निम्तोमा पूर्व युवराज्ञी हिमानी शाह अष्ट्रेलिया आउनु हुने भएको छ । हिमानी ट्रष्टकी संस्थापक पूर्वयुवराज्ञी शाह अगष्ट महिनाको दोश्रो साता हिमानी कोष अष्ट्रेलियाको आयोजनामा हुन लागेका कोष संकलन (फन्ड रेजिंग) का विभिन्न कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आउने निश्चित भएको कोषकी अष्ट्रेलिया अध्यक्ष अन्जना बस्नेत कार्कीले एएनजेड खवरलाई बताईन् ।


पूर्व युवराज्ञी शाहका साथमा पूर्व अधिराजकुमारी द्वय शिताष्मा राज्यलक्ष्मी शाह, दिलाशा राज्यलक्ष्मी शाह सहित हिमानी ट्रष्ट नेपालका बोर्ड अफ डाईरेक्टरहरू सहभागि हुने अध्यक्ष बस्नेतले जनाएकी छन् ।


सन् २०२० मा हिमानी ट्रष्ट नेपालको पहिलो अन्तराष्ट्रिय संस्थाको रूपमा हिमानी कोष अष्ट्रेलियाको स्थापना भएको थियो । अष्ट्रेलियाको कानुन अनुसार ट्रष्ट दर्ता गर्न नमिल्ने भएकाले हिमानी कोष अष्ट्रेलियाको रूपमा ट्रष्टको पहिलो विदेश स्थित शाखा बनेको पनि अध्यक्ष बस्नेतले जानकारी दिईन् ।
गत वर्ष जनवरीमै पूर्व युवराज्ञी शाहको उपस्थितिमा औपचारिक उद्घाटन सहितका कार्यक्रम गर्ने तय भएपनि कोरोना महामारीका कारणले रोकिएको सो भ्रमणले अहिले पूर्णता पाउन लागेको हो ।


५ दिनको सिड्नी बसाईका अधिकांश समय युवराज्ञी शाहले औपचारिक कार्यक्रम र भेटघाटमै बिताउने तय भएको बुझिएको छ । स्रोतका अनुसार यो पटकको शाहको भ्रमणलाई सकेसम्म फलदायी र सफल बनाउन अष्ट्रेलियाका कोषका पदाधिकारीहरू लागिपरेका छन् ।


हिमानी कोषकी अष्ट्रेलिया अध्यक्ष अन्जना बस्नेत कार्कीका अनुसार अगष्ट १० तारिख पूर्वयुवराज्ञीले महिला सशक्तिकरण सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउने भएकी छिन् । यस कार्यक्रममा अतिथि वक्ताको रुपमा न्यूसाउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्ड सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागी हुनका लागि ७५ डलर प्रतिव्यक्ति प्रवेश शुल्क तोकिएको छ ।


यस्तै अर्को कार्यक्रम अगष्ट १२ तारिखका लागि राखिएको छ । न्यूसाउथवेल्सको पार्लियामेन्ट हाउसमा रहेको स्ट्रेन्जर्स हलमा हुने यो फन्डरेजिंग डिनरमा सहभागी हुन १ सय ५० डलर शुल्क तोकिएको छ । अतिथिका रुपमा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरे रहेका छन् । कार्यक्रममा नेपाली समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा आयोजकको रहेको छ ।


कोषले आयोजना गर्न लागेको यो कार्यक्रमको उद्धेश्य हिमानी ट्रस्ट नेपालको नेतृत्वमा रहेको “एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट” लाई सहयोग गर्न कोष जुटाउने हो। यस परियोजनाले नेपालका बाढी प्रभावित क्षेत्रका १०,००० पिछडिएका बालबालिकालाई सेल्फ-फिल्ट्रेसन वाटर बोतलको सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

तपाइँको प्रतिक्रिया