शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२७ |सिड्नीको समय: २०:२७ |काठमाडौंको समय: १६:१२

प्रमुख संरक्षक शेष घलेले बोलाएको महाधिवेशनमा भाग लिन विश्वभरका एनआरएनहरु काठमाडौं आउँदै

एएनजेड खबरमार्च १७, २०२२

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुने निश्चित भएपछि विश्वभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् ।
प्रमुख संरक्षक शेष घलेले यही मार्च २२ देखि २५ सम्म काठमाडौंमा हुने गरी संघको दशौं महाधिवेशन तोकेका छन् । प्रमुख संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन आह्वान गरेका हुन् । आन्तरिक विवादका कारण समयमा महाधिवेशन हुन नसकेको र वर्तमान नेतृत्वले समस्या समाधान गर्न नसके पछि प्रमुख संरक्षक घलेले महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामा संयोजक तथा अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको तयारी समिति गठन गरेका थिए। तयारी समितिमा आइसीसीका पदाधिकारी तथा सदस्य र सबै एनसीसीका अध्यक्षहरु सदस्य रहेका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ ।
गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन विवादका कारण हुन सकेको थिएन । महाधिवेशन प्रतिनिधि चयनमा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले विधानविपरीत काम गरेपछि तीन पटक मिति घोषणा गरेपनि निर्वाचन हुन नसकेको हो ।

घलेले महाधिवेशन आह्वान गरेपछि संघका अधिकांश राष्ट्रिय समन्व परिषद (एनसीसी) हरु उत्साहित भएका छन् । हाल संसारका ६५ देशमा संघका एनसीसी सक्रिय छन् । ती सबै एनसीसीहरुबाट छानिएका महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् ।
घलेले गत शुक्रबार महाधिवेशनको आह्वान गरेपछि सबैभन्दा बढी पन्जीकृत सदस्य भएका एनसीसीहरुले घलेको निर्णयको स्वागत गर्दै महाधिवेशन सफल पार्न सबैमा आग्रह गरेका छन् ।
कुमार पन्त नेतृत्वको काम चलाउ आइसीसीका केही पदाधिकारीले विधानविपरीत महाधिवेशन प्रतिनिधि चयन गरेपछि संघमा विवाद झाँगिएको हो । उनीहरुले महाधिवेशनका लागि ३ हजार ६ सय ३४ प्रतिनिधिको सूची तयार पारेका थिए ।

विवादका कारण संस्था नै विभाजन हुने अवस्था देखिएपछि घलेले विधानको दफा १६.१.४ मा रहेको अधिकार प्रयोग गर्दै एकताको महाधिवेशन आह्वान गरेका छन् । घलेले झण्डै एक महिना लगाएर महाधिवेशनको प्रतिनिधिहरुको नाममा अनुसन्धान गरेका छन् । सचिवालयले तयार पारेको सूचीबाट घलेले झण्डै ९ सय नाम हटाएका छन् । अब करिव २ हजार ६ सय प्रतिनिधिले मात्रै महाधिवेशनमा भाग लिन पाउने छन् ।

तपाइँको प्रतिक्रिया