रुपान्तरण
रमी प्रियाजनवरी १८, २०२२
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2022/01/rami-anz-copy-1024x576.jpg)
हिँड्दा हिँड्दै
तिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँ
सर्वोच्चताको सीमान्त छोएर
धेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि ..
तिम्रै कूचीको प्रेमील स्पर्शले पग्लिएर झरना बनेँ ।
झर्दा झर्दै आफूलाई..
उड्दै गरेकी पुतली सम्झिएँ
कहिले लजाएर गुलाबी फक्रिदिएँ ।
झरेर गन्तव्यसम्म पुग्नु त धर्म थियो
तर कुन मोहले अल्झाएर हो कुन्नि ?
बग्दा बग्दैका पाइलाहरु किनारा भै त्यतै थामिए ।
पर्खनु नै नशा बनेपछि
हृदयभरिको सारा उतारचढावको रुपान्तरणमा
ईश्वरसँग आफूलाई बगर बनाई मागेँ
रहलपहल घाऊका अवशेषहरु छातीमै सजाएर पल्टिरहेँ
एक जोर तिम्रा पैताला यतैबाट गुज्रिनेछन् लागेर ।
कुनैदिन तिम्रो प्रेममा नपरेको हुँदो हुँ त
जीवनका यति धेरै आयामहरुको स्वाद कहाँ भेट्थेँ म ?
तपाइँको प्रतिक्रिया