देउवाको विकल्प खोजियो तर स्वास्थ्य अवस्थाबारे चासो दिइएन् !
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित घटनाक्रममा पुराना दलका शीर्ष नेताको विकल्प खोज्नुपर्ने आवाज सम्बन्धित पार्टीभित्र उठिरहेको छ। मूलतः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र यस्तो आवाज उठिरहेको हो।
कांग्रेसभित्र दुई जना युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले जिम्मेवारी छाड्नुपर्ने आवाज अलि बढी उठाइरहेका छन्। महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि आफूले महामन्त्री पद छाड्न पनि तयार रहेको सन्देश दिइरहँदा अर्का महामन्त्री शर्मा पनि देउवाले नै मार्ग प्रशस्त गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनिरहेका छन्।
महामन्त्री द्वय थापा र शर्माभन्दा इतर समूहका नेता डा.शेखर कोइराला देउवाको विकल्पमा अहिले सुनिएका छैनन्। यस्तोमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का भने देउवाको विकल्प तत्काल खोजिनुपर्नेमा असहमत छन्।
‘अहिले पार्टीलाई फेरि उठाउनु छ। एकताको बलमा हामी फेरि उठ्छौँ, हामी त्यो सक्छौँ। नेपाली कांग्रेसको इतिहासले भन्छ, अरू पार्टीको पनि आआफ्नो इतिहास होला,’ उपसभापति खड्काले भने, ‘जनताले प्राप्त गरेको अधिकार, संविधानको रक्षासँग जोडिएर आउने जिम्मेवारी यी सबै कुरालाई ध्यानमा राखेर एकताबद्ध हुन्छौ, एकताबद्ध भएर हामी फेरि हामी नयाँ तरिकाले उठाउँछौँ।’
त्यसका लागि सिंगो पार्टीका सबै नेताहरू छलफलमा रहेको उनले बताए। यता, महामन्त्री विश्वप्रकाश शर्माले नेपाली जनसम्पर्क समितिहरूसँग चुनावमा जाने विषयमा राय मागेका छन् । मंगलबार साँझ करिब पौने चार घण्टा चलेको भर्चुअल बैठकमा महामन्त्री शर्माले दुई विषयमा सुझाव मागेका थिए ।
भर्चुअल बैठकमा उपसभापति खड्का र महामन्त्री थापा पनि सहभागी हुने जानकारी जनसम्पर्क सभापतिहरूलाई गराइएको थियो । तर, खड्का र थापा छलफलमा सहभागी भएनन् । जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलको अगुवाइमा भएको छलफलमा जनसम्पर्क समितिका ३७ कार्यसमिति सक्रिय रहेकोमा छलफलमा २२ सभापतिले आफ्ना भनाइ राखेका थिए ।
शर्माले प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन भएको र देश निर्वाचनमा जाने विषयको छलफल प्रारम्भ भएको भन्दै कांग्रेसले आगामी दिनमा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए ।
त्यसक्रममा जनसम्पर्क सभापतिहरूको साझा भनाइ भने यसको विषयमा केन्द्रीय समितिले निर्णय गरेर पार्टीको अवधारणा बनेपछि मात्र आफूहरूले सुझाव राख्न सक्ने प्रतिक्रिया दिएका थिए । यस्तो बेला कांग्रेसको समन्वयकारी भूमिका देशले खोज्ने गरेको बताए ।
युके सभापति युवराज गुरुङ र जापानका सभापति लालबहादुर केसीले महामन्त्रीहरूले केन्द्रीय समिति बैठकमा राख्नुको साटो फेसबुकमा लेखेका विषयमा प्रश्न उठाएका थिए । उनले सभापतिलाई भेटेको वा नभटेको वा उहाँको स्वास्थ्य अवस्था सोध्नुको साटो बहिर्गमन गर्न खोज्नु राम्रो संकेत नभएको बताएका थिए ।
त्यसक्रममा महामन्त्री शर्माले सभापतिलाई भेट्न नपाएको बताएका थिए । उनीहरूले कार्यसम्पादन समितिको आधिकारिक निर्णयमा सभापतिलाई स्वास्थ्यलाभको कामना गर्न चुकेकामा पनि प्रश्न गरेका थिए । क्यानडाका सभापति बुद्धिप्रकाश ओलीले भने पार्टी सभापतिको घरमा रहेको पैसाको विषयमा प्रश्न उठाएका थिए ।
तपाइँको प्रतिक्रिया