विभाजितको असर : जेनजी आन्दोलनबाट अर्बौ क्षति हुँदा एनआरएनएहरुमा छैन् तत्परता
काठमाडौं । आधिकारिक तथ्यांक नभएपनि गैर आवासीय नेपालीहरुको नेपालमा लगानी १ खर्ब रुपैयाँभन्दा बढी छ । त्यस्तै सामाजिक एवम परोपकारको क्षेत्रमा विदेशमा बस्ने नेपालीहरुको सहयोग नगन्य छ ।
मुलुकमा विपत्ति वा संकट पर्दा एकताबद्ध भएर जुरुक्कै उठेर सहयोग जुटाउने गरेको धेरै उदाहरणहरु छन् । भूकम्प, बाढी पहिरो, आगलागीलगायतका प्राकृतिक विपत्तिमा मुलुक पर्नासाथ एनआरएनएको अगुवाइमा विश्वभर राहत संकलन हुने गरेको छ ।
विदेशस्थित अधिकांश देशमा रहेका नेपालीले सामूहिक तथा व्यक्तिगतरूपमा लगानीमात्रै नगरेर सामाजिक कार्यमा व्यापक सक्रियता देखाउने गरेका छन् । कतिपय व्यक्तिले सामाजिक संस्था नै खोलेर त्यसमार्फत सामाजिक कार्य गरिरहेका छन् भने कतिपय सम्बन्धित देशमा रहेका व्यक्ति मिलेर नेपालका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रममा सहयोग गरिरहेका छन्।
आर्थिक लगानीजस्तै परोपकारका क्षेत्रमा पनि एनआरएनएहरूको लगानीको यकिन तथ्यांक छैन। एनआरएनएकै सक्रियतामा सामाजिक कार्यअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर लाप्राक एकीकृत नमुना बस्ती निर्माण गरेर धेरै तारिफ कमाएको छ । तर पछिल्ला बर्षहरुमा एनआरएनएहरु विभाजित हुँदा सहयोग र राहत आउने संभावना न्यून हुँदै गएको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ। यसले व्यापार–व्यवसायमा ठूलो क्षति पुर्याउनुका साथै रोजगारी गुमेको र निजी क्षेत्रमा निराशा छाएको छ।
अहिलेसम्म कुनै आधिकारिक आँकडा नआए पनि बीमा कम्पनीहरुलाई मात्रै ५० अर्ब रुपैयाँभन्दा बढीको दाबी आउने अनुमान गरिएको छ। यसले बीमा क्षेत्रमा ठूलो भार थप्नेछ। भाटभटेनीका १२ वटा स्टोरसहित चौधरी ग्रुप र अन्य व्यवसायमा भएको क्षतिले निजी क्षेत्रलाई त्रसित बनाएको छ। आन्दोलनका क्रममा हिल्टनसहित दुई दर्जनभन्दा बढी तोडफोड र आगजनी भएका छन्। होटल क्षेत्रले मात्रै २५ अर्ब रुपैयाँ बढीको क्षति व्यहोरेको छ।
तर एनआरएनएले संस्थागत निर्णय गरेर नेपाललाई सहयोग गर्ने कुनै पहल गरेको छैन् । धनाढय एनआरएनएहरुपनि हालको संकटमा सहयोग जुटाउन तत्पर देखिएका छैनन् ।
तपाइँको प्रतिक्रिया