सोमबार, भदौ ३०, २०८२ |Mon Sep, 2025
अक्ल्याण्डको समय: ०७:३७ |सिड्नीको समय: ०५:३७ |काठमाडौंको समय: ०१:२२

साउदीमा अवैध रूपमा बसेका १६१ नेपालीले एक्जिट भिसा

एएनजेड खबरसेप्टेम्बर १५, २०२५

काठमाडौं । साउदीमा अवैध रूपमा बसेका १६१ नेपालीले एक्जिट भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार अकामा नभएका १२६ र हुरुब लागेका ३५ जनाले एक्जिट भिसा पाएका हुन्।

साउदीमा आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।

एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।

साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ । त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले जनाएको छ।

कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत)अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया