सोमबार, भदौ ३०, २०८२ |Mon Sep, 2025
अक्ल्याण्डको समय: १०:१३ |सिड्नीको समय: ०८:१३ |काठमाडौंको समय: ०३:५८

सरकारी संस्था जलाउनेलाई नेपाली कसरी भन्ने ?

एएनजेड खबरसेप्टेम्बर १५, २०२५

काठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि आयोजित एक कार्यक्रममा मुलुकका अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी आगजनी गरिएको बताएकी छन्।

उनले सुरक्षा निकाय, अदालत, र प्रशासनिक भवनहरूमा आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू नष्ट भएकोमा आफूलाई लाज लागेको बताएकी छिन्। “नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?” उनले प्रश्न गरिन्। उनले यो घटना देशको इतिहासमा नै पहिलो पटक भएको र यो पूर्वतयारीअनुसार भएको षड्यन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले आगजनीबाट भौतिक संरचनालाई त पुनर्निर्माण गर्न सकिए पनि महत्त्वपूर्ण दस्तावेजहरू सदाका लागि नष्ट भएकोमा चिन्ता व्यक्त गरेकी छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने पनि जानकारी दिएकी छन्।

जेन(जी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीले विभिन्न सरकारी संस्था, राजनीतिक दलका कार्यालय, व्यावसायिक प्रतिष्ठान र व्यक्तिहरूको घरमा आगजनी गरेका थिए। यसमा प्रहरी चौकी, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र सिंहदरबार लगायतका संरचनामा क्षति पुगेको थियो।

जनही १० लाख रुपैयाँ राहत दिने
जेन–जी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने भएको छ । उनीहरुलाई शहीद घोषणा गरेर उनीहरुका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने पनि प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेकी छिन् ।

उनले घाइतेहरुको निःशुल्क उपचार व्यवस्था गर्न पनि निर्देशन दिएकी छन् ।

जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो ।

जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्यसचिव एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।

तपाइँको प्रतिक्रिया