शनिबार, साउन ४, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: १२:४६ |सिड्नीको समय: १०:४६ |काठमाडौंको समय: ०६:३१

पर्यटनमन्त्री बद्री पाण्डेका बर्ष दिन : यि हुन् उपलब्धीका १५ बुँदा

एएनजेड खबरजुलाइ १८, २०२५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको दाबी गरेका छन् । उनले नीतिगत सुधार, पर्यटन कुटनीति विस्तार, सम्पदा, पर्यटन, हवाई सुरक्षा र सांस्कृतिक उत्थानमा काम गरेको बताएका छन् ।

संकट र चुनौतीका चाङलाई पन्छाएर मन्त्री पाण्डे नेतृत्वको मन्त्रालयले नीतिगत स्पष्टता, अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापना, संरचनागत सुधार र ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ ।

मन्त्री पाण्डेले मन्त्रालय सम्हालेपछि नेपालको हवाई उड्डयन क्षेत्रलाई संकटमुक्त गर्न नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक अगाडि बढाइसकेका छन् ।

यससँगै नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्दै समग्र अध्ययन प्रतिवेदन तयार गरि सो सुझावका आधारमा काम गरिरहेको मन्त्रालयको दाबी छ । मन्त्री पाण्डेले पर्यटन विधेयक, अभौतिक सांस्कृतिक सम्पदा विधेयक, प्रतिलिपि अधिकार सम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गराउन सफल भएका छन् । त्यसमध्ये मन्त्रिपरिषद्बाट पर्यटन नीति २०८२ स्वीकृति गराएको साथै संस्कृति नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको र हवाई नीति निर्माण अन्तिम चरणमा पुगेको मन्त्रालयको प्रगति विवरणमा समेटिएको छ ।

पर्वतारोहण सम्बन्धी नियमावली र हवाई सेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा आइसकेका छन् । यसले नीतिगत स्थायित्व मात्र होइन,अनुशासन र विश्वसनीयता पनि सिर्जना गरेको छ । नयाँ पर्यटन नीति, सुधारिएको नियमावली र विधेयकको जगमा उभिएर मन्त्रालयले पर्यटन महाशाखामार्फत उल्लेखनीय कार्यक्रमहरू सम्पन्न गरेको छ ।

पर्यटन विधेयक २०८२ को मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भई संघीय संसदमा दर्ता गरिएको छ । नेपाल पर्यटन बोर्ड (पहिलो संशोधन) विधेयक मन्त्रिपरिषदमा पेस गरिएको छ । पर्यटन दशक २०२५–२०३५ कार्यान्वयनको तयारीस्वरूप रणनीतिक कार्ययोजना निर्माण भई स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

नयाँ क्यासिनो नियमावली २०८२ तर्जुमा भई कार्यान्वयनमा आइसकेको छ । क्यासिनो व्यवसायसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण तथा आतंकवादसम्बन्धी गतिविधिहरुलाई रोक्नका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी लगायतको सहभागितामा छलफल गरेको थियो । उक्त छलफलमा आएका विषयहरुलाई पनि नियमावलीमार्फत् सम्बोधन गरिएका छ्न् ।

पर्वतारोहण सम्बन्धि (छैठौँ संशोधन) नियामावली २०८१ लागू गरिएको छ । यससँगै विभिन्न ५७ वटा हिमालहरू आरोहणको लागि खुला गरिएका छन्, जसको सूचना नेपाल राजपत्रमा प्रकाशित भएको थियो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको छ । साथै, प्रतिष्ठानका विद्यार्थीहरूद्वारा ७,१२६ मिटर अग्लो हिमलुङ हिमाल र ६४७६ मिटर अग्लो मेरापिकको सफल आरोहण गराइएको छ ।

मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि मन्त्रिपरिषद्वारा कार्ययोजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएका छन्। साउथ एशियाका प्रतिनिधिहरूको उपस्थितिमा साउथ एशिया ड्रोन फोरमको समेत आयोजना गरी मन्त्री पाण्डेले यसतर्फ नीतिगत पहलको थालनी गरिने प्रतिबद्धता व्यक्त गरे।

संस्कृति तथा सम्पदा संरक्षणमा पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका ९२० सम्पदामध्ये ८०० सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी सम्पदाहरूको काम पनि अन्तिम चरणमा पुगेको छ ।

मन्त्री आउनुअघि युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो । यसका लागि मन्त्री पाण्डेले युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटसँग भेट गर्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल गरे । पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर लुम्बिनीलाई खतराको सूचीबाट जोगाउने काम गरेका छन् ।

मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका सम्पूर्ण छपाईको काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेसबाट छाप्ने निर्णय गरे। जसले गर्दा छपाईमा हुने खर्च मन्त्रालय मातहतमा रहँदा यसमा हुने अनियमितता पनि रोकियो । पर्यटनमन्त्रीले गरेका नीतिगत सुधारहरुले नेपाल सांस्कृतिक संस्थानले ६९ दशमलव ४७ प्रतिशतले आम्दानीमा वृद्धि गरेको छ ।

जुन नेपालका संस्थानमध्ये यति धेरै नाफा कमाउने सांस्कृतिक संस्थान मात्रै हो । मन्त्री पाण्डेले पर्यटन विभागमार्फत् आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई हस्तान्तरण गरेर भएपनि कार्यान्वयनमा ल्याउने काम गरे । मन्त्रीहरुको अर्धवार्षिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दै डिस्टिङ्सन समेत भएकाका मन्त्री पाण्डेले ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा नेपालको पर्यटन मन्त्रालयको संरचना, कानुन र कार्यान्वयन पक्षमा देखिएको सुधारका पहलहरुको मूल्यांकनका आधारमा उनले उत्कृष्ट पर्यटनमन्त्रीको अवार्ड प्राप्त गरेका थिए ।

उपलब्धीहरु

१. नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक अगाडि बढाइएको छ । यी विधेयकहरू प्रतिनिधि सभाको विषयगत समितिमा दफावार छलफलमा छन् ।

२. स्थायी हवाई दुर्घटना जाँच संयन्त्रको स्थापना, नेपाल वायुसेवा निगमको सुधारको काम उल्लेख्य रुपमा अगाडि बढेको छ।

३. नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गरी समग्र अध्ययन प्रतिवेदन तयार पारिएको पनि उपलब्धिमा छ ।

४. प्रतिलिपि अधिकार सम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदा तयार पारिएको छ ।

५. मन्त्रिपरिष द्वारा पर्यटन नीति २०८२ स्वीकृत र संस्कृति नीति को मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको र हवाई नीति निर्माण अन्तिम चरणमा छ ।

६. पर्वतारोहण सम्बन्धी नियमावली, हवाई सेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा ल्याइएको छ। पर्वतारोहण क्षेत्रलाई पर्यटन उद्योगको आवश्यकताअनुसार व्यवस्थित, विस्तार र प्रवर्द्धन गर्न पर्वतारोहण सम्बन्धी नियमावली (छैटौँ संशोधन) २०८१ लागू गरिएको छ ।

७. नेपालका ५७ वटा हिमालहरू आरोहणका लागि खुला गरिएका छन् ।

८. नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको छ ।

९. पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई सुरक्षित गन्तव्यका रूपमा विकास गर्ने नीति अनुरूप कर्णालीको रारामा र सुदूरपश्चिमको खप्तडमा थप दुई पर्यटक प्रहरी पोस्टको स्थापना गरिएको छ।

१०. नेपालको पर्यटन विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेपालले थाइल्यान्ड र ओमानसँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारी सम्झौता गरि लागू भएको छ।

११. युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो। खतराको सूचीबाट बाहिर निकाल्न मन्त्री पाण्डेले युनेस्को तथा सरोकारवाला राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग चरणबद्ध रूपमा छलफल गर्दै लुम्बिनीलाई खतराको सूचीबाट निकाल्नका लागि तयार पारिएको सुधारात्मक कार्य योजना (एक्सन प्लान) लाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ।

१२. मन्त्रालय अन्तर्गतका सम्पूर्ण छपाइको काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेसबाट छाप्ने निर्णय गरि कार्यान्वयन गरेका छन् ।

१३. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मन्त्रालयहरूको अर्धवार्षिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका थिए ।

१४. नेपालको हवाई ,पर्यटन क्षेत्रमा सुसासन,पारदर्शिता ,नितिगत सुधार ,कार्यसम्पादन मा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पर्यटन मन्त्री अवार्ड (२०२५ ले सम्मानित

१५. नेपाल सांस्कृतिक सस्थानमा एतिहासिक रुपमा ६९.४७ आम्दानी वृद्धि गर्न सफल ,यो नेपालको सार्वजनिक सस्थाहरु आम्दानी गर्ने पहिलो संस्था बनेको छ।

तपाइँको प्रतिक्रिया