कूटनीतिक कमजोरीले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत भएन्
काठमाडौं । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास असफल भएको छ । फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावमाथि छलफल भएको थियो ।
तर उक्त सेसनबाट तिलौराकोट विश्व सम्पदामा सूचीमा सूचीकृत हुन सकेन । तर युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमस (इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स)ले गरेको मूल्यांकनको आधारमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव अस्वीकृत गरिएको हो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले इकोमसले मूल्यांकन पहिले नै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावलाई डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए । युनेस्कोको ४७औं बैठकमा सहभागी सदस्य सबै राष्ट्रहरुले इकोमसको सोही प्रतिवेदनलाई समर्थन जनाएपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास असफल भएको हो ।
शाक्यवंशी राजा शुद्धोधनको राजधानी तथा प्राचिन कपिलवस्तुको दरवार रहेको स्थान तिलौराकोट गौतम बुद्ध हुर्केको र २९ वर्ष बिताएको ठाउँ हो । तिलौराकोटलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९६ मै सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो । त्यसै बेलादेखि विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रमाण र आधार जुटाउन प्रयास थालिएको थियो ।
युनेस्को जापनिज फण्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्विक उत्खनन्पछि पर्याप्त आधार र प्रमाण जुटाएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइएको थियो । उत्खनन्का क्रममा फेला परेका पुरातात्विक वस्तुहरूको वैज्ञानिक अनुसन्धान र अध्ययनको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातत्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका थिए ।
त्यसका लागि अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ प्रोडा रविन कनिङघम, डा.मार्क म्यानुअल, प्रोफेसर योकियो निशिमुरा, प्रो.म्याक्स डिग, डा.क्रिस्टोफ डेविस, डा.काई वाइजे, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्यलगायतका विज्ञहरुको टिमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि तयार गरेको रणनीतिक मनोनयन दस्तावेज तयार गरेका थिए ।
त्यसको आधारमा २०८० माघमा विश्व सम्पदा केन्द्रमा मनोनयन दस्तावेज पेस गरिएको थियो । केन्द्रमा मनोनयन दस्तावेज पेश गरेपछि युनेस्कोको मूल्यांकन टिमले तिलौराकोटमै आएर पटकपटक अध्ययन र मूल्यांकन गरिसकेको थियो । हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन् । सूचीकृत गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार भने २१ वटा राष्ट्रलाई मात्र रहेको छ । तिनै २१ वटा राष्ट्रको ४७औं बैठक गत शुक्रबार र शनिबार पेरिसमा बसेको थियो ।
युनेस्कोको बैठकमा सहभागी हुन नेपालबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोली फ्रान्स पुगेको थियो । बैठकमा इकोमसले डिफर गरेको प्रस्तावमाथि सहभागी कुनै पनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव हालेनन् ।
संबोधन हालेको भए तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव बैठकमा पेश हुन्थ्यो । सम्पदा कुटनीतिमा नेपालको तर्फबाट कमजोरी देखिँदा तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बताइएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव नलैजान भारतले युनेस्कोलाई दबाब दिएको बताइएको छ । भारतले कपिलवस्तुको तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दावी गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया