साउदीमा ५४४ नेपाली कामदार जेलमा, आठ जनाले पाए आममाफी
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ८ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ।
नेपाली महावाणिज्य दूतावास जेद्दाको कार्य क्षेत्राधिकार भित्रका विभिन्न जेलहरुमा रहेका नेपालीहरुमध्ये ८ जना नेपालीहरुलाई साउदी सरकारबाट आममाफी दिईएको छ।
महावाणिज्य दूतावासका अनुसार प्रकाश विष्ट,राजेश बुढा मगर,जय बीसी,हर्कर्द बहादुर कार्की ,यम बहादुर थापा,ध्यानबहादुर राई,पवन गुरुङ र पेम्बा शेर्पाले आममाफी पाएका हुन्। आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोगिरहेका थिए। आममाफी पाएकाहरुलाई महावाणिज्य दूतावास स्वदेश फिर्ताको लागि सहजीकरण गर्नेछ।
साउदी अरेबिया लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ। साउदी सरकारको गत महिना पनि कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ६५ जना नेपालीलाई आममाफी दिएको थियो। हाल साउदीमा ५४४ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् ।
रियादस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार ३ सय ४५ रक्सी बनाएर बेचेको आरोपमा,८४ जना लागुऔषध ओसारपसार तथा कारोबार,४३ जना चोरी केशमा,१२ जना बेश्यावृतीमा,१६ जना तोडफोडमा,१५ जना घुसखोरी,४ जना व्यक्ति हत्या, ७ जना कानुन उल्लङ्घन,११ जना धोखाधडी र ५ जना उत्पीडन केशमा जेलजीवन बिताईरहेका छन्।
पछिल्लो समय साउदी पुगेर हजारांै नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर अवैध तरिकाले काम गर्ने क्रम बढेको छ ।
तपाइँको प्रतिक्रिया