भारतमा विमान दुर्घटना : २४२ मध्ये २४० जनाको मृत्यु
एजेन्सी । भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना हुँदा विमानमा सवार अधिकांशको मृत्यु भएको दाबी गरिरहँदा अमहदाबाद प्रहरीले एक जना जीवितै फेला परेको जनाएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईले अहमदाबाद प्रहरीलाई उधृत गर्दै एक जना जीवितै भेटिएको जनाएको हो ।
भारतीय मिडियाहरूको भनाइलाई मान्ने हो भने २४२ मध्ये २४० जनाको मृत्यु भएको छ । दुई जनाको जीवितै उद्दार भएको छ ।
एक जना भारतीय नागरिक रमेश विश्वास कुमार हुन् भने अर्का एक जना बेलायती नागरिक हुन् । बेलायती नागरिकलाई अस्पतालमा भर्ना गरिएको छ भने कुमार हिँडेको भिडियो सामुन्ने आएको छ । उनी विमानको ११ ए सिटमा बसेका थिए ।
उनका अनुसार जब विमान उड्यो त्यसको ३० सेकेन्डपछि नै जहाज जोडको आवाजसहित दुर्घटनामा पर्यो । उनलाई होश आउँदा वरिपरि शव नै शव थिए । उनले आफ्ना भाइ पनि सँगसँगै विमानमा चढेकाले भाइलाई खोजिदिन आग्रह गरिरहेका थिए ।
चालक दलका १२ सहित २४२ जना सवार अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको आधिकारिक संख्या अझै खुलेको छैन ।
उक्त विमान अहमदाबादको नागरिक अस्पतालको आवासीय चिकित्सक रहने भवनमा ठोक्किएको थियो । १५ डाक्टर घाइते भएका छन् ।
तपाइँको प्रतिक्रिया