सोमबार, मंसिर २४, २०८१ |Tue Dec, 2024
अक्ल्याण्डको समय: ०३:२५ |सिड्नीको समय: ०१:२५ |काठमाडौंको समय: २०:१०

साफ महिला च्याम्पियनशिप बंगलादेश विजयी,नेपाल छैटौँ पटक पराजित

एएनजेड खबरअक्टोबर ३१, २०२४

काठमाडौँ । नेपाल १२ औँ पटक कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ । अहिलेसम्म एउटा पनि उपाधि जित्न नसकेको नेपाल बुधबार भएको साफ महिला च्याम्पियनशिपको सातौँ संस्करणमा पनि उपविजेतामा सीमित भएको छ ।

घरेलु दशरथ रंगशालाको मैदानमा भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो । बंगलादेशले ५२ औँ र ८१ औँ मिनेटमा गोल गरेका थियो भने नेपालले ५६ औं मिनेटमा गोल फर्काएको थियो । अमिषा कार्कीले गोल गरेकी थिइन् । यसअघि खेलको २० मिनेटमा अमिषाको प्रहार भने गोल पोष्टको बारमा लागेर फर्केको थियो ।

खेलमा बंगलादेशले १२ ओटा प्रहार गरेकामा नेपालले ८ ओटामात्र गोलका लागि प्रहार गरेको थियो । तर पोष्टको दिशामा बंगलादेशले ८ वटा प्रहार गर्दा नेपालले ५ ओटामात्र गरेको थियो ।

त्यस्तै बंगलादेशले ४ ओटा कर्नर पाउँदा नेपालले एउटा पनि कर्नर पाएन । बंगलादेशले पाँच ओटा फल खेल्दा नेपालले तीन ओटा फल खेल्यो । नेपालको एउटा अफसाइड हुँदा नेपालले एउटा पहेँलो कार्ड खाएको थियो ।

यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत थियो । छैटौँ संस्करणमा दशरथ रंगशालामै नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश ३–१ ले सहजै विजयी भएको थियो ।

बंगलादेशले नेपाललाई लगातार दोस्रो पटक फाइनलमा हराएर साफमा दोस्रो उपाधि जितेको छ । नेपाल भने साफमा मात्रै छैटौँ पटक फाइनलमा पराजित भएको छ ।

नेपाली पुरुष टिमले सन् १९८१ मा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मान्यता पाएकामा महिला टिमले भने सन् १९८६ देखिमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।

यो ३८ वर्षको अवधिमा नेपाल यो साफको सातौँ संस्करणको फाइनलसमेत गरेर १२ पटक फाइनलमा पुगेको छ । तर सबै फाइलमा नेपाल उपविजेतामा सीमित हुँदै आएको छ । साफमा मात्र यो पटकसमेत गरेर ६ पटक फाइनलमा पुगेर पनि पराजित भयो ।

चार पटक त नेपाललाई फाइनलमा भारतले हराएको थियो । तर सुखानुभूति चाहिँ के भने गत संस्करण र यो संस्करण गरी लगातार दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

नेपालले तेस्रो पटक साफको आयोजना गरेको हो । यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित नेपालले यसपटक हारको डेडलक तोड्ने आशा गरिए पनि निराशा नै हात लागेको छ ।

हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेदेखि नेपालले थुप्रै अन्तर्राष्ट्रि खेल खेल्यो । तर उपाधिको खडेरी अहिलेसम्म तोडिएको छैन ।

छ पटक साफ महिला च्याम्पियनशिप, तीन पटक साग गेम्स, एक पटक हिरो कप, एक पटक नादेज्दा कप र एक पटक पश्चिम एसिया विमन्स च्याम्पियनशिप ९वाफ० को फाइनल खेलेको थियो । सबैमा हार व्यहोरेको छ ।

१२ फाइनल खेल्दा नेपालले सात पटक भारतसँग हारेको छ । त्यस्तै बंगलादेशसँग दुई पटक तथा म्यानमार, ताजकिस्तान र जोर्डनसँग एक–एक पटक फाइनलमा हार बेहोरेको छ ।

तपाइँको प्रतिक्रिया