सोमबार, मंसिर २४, २०८१ |Tue Dec, 2024
अक्ल्याण्डको समय: ०२:४७ |सिड्नीको समय: ००:४७ |काठमाडौंको समय: १९:३२

एनआरएनएलाई ओलीको सुझाव : ‘राजनीतिक टग अफ वार’ नगर्नुहोला

एएनजेड खबरअक्टोबर २७, २०२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)को ग्लोबल सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गरे ।

‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो,’ उनले भने ।

ओलीले एनआरएनका जुनसुकै समस्याहरू समाधान गर्न सरकार तयार रहेको र त्यसका लागि प्रस्ताव लिएर आउन आग्रह समेत गरे। उनले संगठनलाई बलियो बनाउन एकतावद्ध हुन समेत आग्रह गरे।

उनले भने, ‘तपाईंहरूले संगठनलाई एकतावद्ध राख्न सक्नु भयो भने । त्यसपछि काम गर्न त सकिहालिन्छ। एकतावद्ध भएपछि काम गर्न सकिन्छ। आजको जवानमा काम गर्न चाह्यो भने छिटो काम गर्नका लागि मेसिन बनेका छन्। अझ छिटो बनाउनका लागि कम्प्युटर छन्। अझ पछिल्लो जेनरेसनमा एआई बनेको छ। मेसिनहरूले मानिसको लाइफ सहज बनाएको छ। यसैले गर्न नसकिने भन्ने छैन।’

उनले नागरिकताको विषयमा देखा परेका समस्याहरू समाधान हुने विश्वास पनि दिलाए । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको प्रतिक्रिया दिए । कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनउ बनाएको बताए ।

‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ,’ उनले भने,‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

तपाइँको प्रतिक्रिया