शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५७ |सिड्नीको समय: २०:५७ |काठमाडौंको समय: १६:४२

युक्रेनी सैन्य हिरासतमा ६ नेपाली, छाड्नका लागि युक्रेनले राख्यो शर्त

एएनजेड खबरजुन ९, २०२४

काठमाडौं । रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनी भूभागबाट ६ जना नेपाली फरक–फरक मितिमा युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् ।

सरकार र पारिवारिक च्यानलका अनुसार बर्दियाका विवेक खत्री, मोरङका विकास राई, काभ्रेका सिद्धार्थ ढकाल, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

रुसले कब्जा गरेको र लडाइँ गरिरहेको युक्रेनी भूभागमा लडाइँका जाने क्रममा रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो । नेपालको कूटनीतिक प्रयासपछि रुसी सेनामा नेपालीको भर्ती बन्द भएको छ ।

तर, युद्धमा मारिएकाको क्षतिपूर्ति, नेपालीको करार रद्द गर्नेलगायत सहमति रुसले पालना गरेको छैन । रुस–युक्रेन युद्धपछि रुसी सेनामा भर्ती भएका नेपालीमध्ये हालसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको छ । ४० भन्दा बढी हराइरहेका छन् ।

तर आफ्नो सैन्य हिरासतमा रहेका नेपाली छाड्न युक्रेनले नेपालसँग दीर्घकालीन कानुनी सम्झौता गर्नुपर्ने प्रस्ताव राखेको छ । द्विपक्षीय कानुनी सम्झौतामा हस्ताक्षर गरेर त्यस आधारमा नेपाली नागरिकलाई छाड्न तयार रहेको युक्रेनले नेपाललाई स्पष्ट पारेको छ । नेपाल र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौताबाहेक कुनै पनि सम्झौता छैन ।

दिल्लीस्थित युक्रेनी राजदूत ओलेक्सेन्डर पोलिस्चुकले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत तीन महिनाअघि नै नेपाल सरकारलाई यो जानकारी पठाइसकेका छन् ।

तपाइँको प्रतिक्रिया