शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:४४ |सिड्नीको समय: १९:४४ |काठमाडौंको समय: १५:२९

मितिनी नेपालको पहलमा प्रेरणदायी जोडीहरूको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक

एएनजेड खबरमे १८, २०२४

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय(क्वेर)को हक अधिकार सुनिश्चित हुनुपर्ने माग सहित होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाइन्छ ।

फरक यौनिकता र लैङ्गिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरूप्रति नीति निर्माता, मिडियाकर्मी, आमजनता, नागरिक समाज, सरोकारवाला सङ्घसंस्था र अधिकारीहरूको ध्यानाकर्षण गराउनका लागि यो दिवसले प्रमुख भूमिका खेल्दछ । संसारका सबै मानव जातिको समान र अपरिहार्य अधिकार स्वतन्त्रता, न्याय र शान्तिको आधार हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै नागरिकको मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र रक्षा गर्नु हरेक राष्ट्रको कर्तव्य हो भनी सम्बोधन गरेको छ ।

मितिनी नेपालले सधैँको वर्ष झैँ यो वर्ष पनि “कोही पनि नछुटुन्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय” भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरेको छ ।

मितिनी नेपालले सरोकारवाला सरकारी निकाय, जनप्रतिनिधिलाई सँगै राखेर यौनिक तथा लैङ्गिक समुदायको कानुनी रक्षाका लागि पहल गर्दै आएको छ । मितिनी नेपालले सातै वटा प्रदेशमा रहेका २ सय भन्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एउटै स्थानमा ल्याउने र समुदायका जोडीको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक “कोही पनि नछुटुन्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय” विमोचन गरेको छ ।

पुस्तकमा साझेदार गरिएका कथाहरूले वैवाहिक समानता नहुँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूले व्यक्तिगत तथा सार्वजनिक जीवनमा भोग्दै आइरहेको सङ्घर्ष र पहिचानको कथा साथै अन्य विविध मुद्दाहरूलाई समेटेको छ ।

समुदाय भित्र पनि उमेर, जाति, वर्ग, भाषा, लिङ्ग, उत्पत्ति र भौगोलिक अवस्थाको स्थितिलाई कथा मार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ भने सबैका लागि समानता, स्वतन्त्रता र न्यायका लागि पहिचानको लडाई लड्न सन्देश पनि दिएको छ ।

यसका साथै लामो समयदेखि सँगै बस्दै आइरहनु भएका समुदायको एक जोडी चितवन निवासी मिलन बास्तोला र निर्मला बास्तोला तथा समुदायको सदस्यको रूपमा आफ्नो सन्तानलाई स्वीकार गर्नु भएको मोरङका राज चौधरीको परिवारलाई मितिनी नेपालले सम्मान गरेको छ ।

तपाइँको प्रतिक्रिया