शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:५६ |सिड्नीको समय: १४:५६ |काठमाडौंको समय: १०:४१

अनमोललाई ‘मिस पिंक २०२४’ को उपाधी, समुदाय नै विजयी भएको अध्यक्ष गुरुङको घोषणा

एएनजेड खबरमे १७, २०२४

काठमाडौं । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार पाएकी छन्।

ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राई नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् ।

प्रतियोगिताबाट ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपानेले पाएकी छन्। ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाएकी छन्।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड विहीबार नाचघरमा आयोजना गरिएको थियो ।

१८ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो। टप टेनमा सामाग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए। टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए।

विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको अवसरमा मिस पिंक आयोजना गरिएको आयोजक व्लु डाइमण्ड सोसाइटीले जनाएको छ । सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना गरिएको बताइन । उनले १८ जनामध्येबाट जोकोही विजयी भएपनि समुदायको विजयी ठान्न उनले आग्रह गरिन ।

राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा आयोजित कार्यक्रममा सरकारका स्वास्थ्य सचिब डा.रोशन पोखरेलले समुदायका मुद्धा स्थापित गराउन सौन्दर्य प्रतियोगिता उपयोगी भएको बताए । उनले समुदायका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन स्थानीय तहदेखिनै सोचमा परिवर्तन ल्याउनुपर्ने बताए ।

युएनकी आवासीय प्रतिनिधि हानाज सिंगरले नेपालमा समुदायले कानुनी रुपमा उपलब्धी हासिल गरेपनि त्यो पर्याप्त नभएकाले कानुन कार्यान्वयनका लागि अभियन्ताहरु एकजुट भएर अघि बढ्न आब्हान गरिन । कार्यक्रममा राइट हेयर राइट नाउकी अध्यक्ष आस्था पोखरेल, एड्स हेल्थकेयर फाउन्डेसन नेपालका कन्ट्री पोग्राम म्यानेजर दिब्यराज जोशीलगायतले शुभकामना दिए ।

तपाइँको प्रतिक्रिया