आइतबार, भदौ २२, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: १८:२४ |सिड्नीको समय: १६:२४ |काठमाडौंको समय: १२:०९

रुसमा नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति

एएनजेड खबरमार्च २९, २०२४

काठमाडौं । रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति खुल्ला गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ ।

‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०।११।९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला श्रम मन्त्रालयले फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णयको विषयलाई लिएर आलोचनासमेत हुन थालेको छ ।

तपाइँको प्रतिक्रिया