सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १६:२६ |सिड्नीको समय: १४:२६ |काठमाडौंको समय: ०९:११

युएई पुगेका १५ नेपाली दुई महिनादेखि बन्द कोठामा

एएनजेड खबरफ्रेब्रवरी ११, २०२४

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् ।

‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख काम दिन्छु भनेको पनि दुई महिना भयो, हामी दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा बसिरहेका छौं ।’

नेपालबाट पठाउने म्यानपावरले पनि फेब्रुअरी १८ तारिखभित्र काम दिने भनेको तर त्यो म्यानपावरको भनाइमा पनि विश्वास गर्ने केही आधार नभएको उनले बताए । आफूहरूले एउटा भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि म्यानपावरले धम्क्याउने गरेको उनीहरूले बताएका छन् । ‘म्यानपावर पोखराको जब प्लेसमेन्ड भए पनि हामीहरू काठमाडौंको कस्तुरी म्यानपावरबाट आएका हौं, त्यो भिडियो किन राखेको भनेर अहिले हामीहरूलाई थर्काउने गरिरहेको छ,’ महतोले भने ।

तपाइँको प्रतिक्रिया