बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०२:०३ |सिड्नीको समय: ००:०३ |काठमाडौंको समय: १९:४८

नेपाल-क्यानडा सम्बन्धको ५९ वर्ष : नेपालबाटै कन्सुलर सेवाको माग

एएनजेड खबरजनवरी २२, २०२४

काठमाडौं । नेपाली विद्यार्थी र स्थायी बसोबास गर्न क्यानडा जानेहरूको संख्या लगातार बढिरहेको सन्दर्भमा क्यानडाले नेपालबाटै कन्सुलर सेवा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको अवसरमा क्यानडाको अन्टारियोमा आयोजित कार्यक्रममा नेपालीका तर्फबाट यस्तो माग गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा क्यानडाको सत्तापक्षीय संघीीय सांसद सोनिया सिद्दु सहभागी रहेको कार्यक्रममा नेपालमा भिसा कार्यालय मात्रै स्थापना भए धेरै नेपालीलाई सुविधा हुने जनाइएको थियो ।

त्यस अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालले क्यानडामा राजदूतावास सञ्चालन गरिरहेको उल्लेख गर्दै क्यानडाले पनि नेपालमा राजदूतावास स्थापना गर्नुपर्ने बताएका थिए ।

नेपालमा क्यानडाको दूतावास नहुँदा नेपालीको समय र पैसाको बरबादी भइरहेको भन्दै अध्यक्ष तिम्सिनाले क्यानाडामा करिब एक लाखको हाराहारीमा नेपाली पुगिसकेको अवस्थामा दूतावास स्थापना गर्ने कुरामा पहल अझ बढाउनुपर्नेमा जोड दिएका थिए ।

क्यानाडाका संघीय सांसद सोनिया सिद्दुले दूतावास स्थापना गर्ने सन्दर्भमा छलफल गर्न तयार रहेको उल्लेख गरिन् । विदेशी विद्यार्थीका विषयमा संघीय सरकारबाट केही नयाँ कार्यक्रमहरू घोषणा हुन लागेको उल्लेख गर्दै उनले कतिपय विषयमा प्रदेश सरकारसँग समेत मिलेर काम गर्नुपर्ने बताइन् ।

क्यानाडा–नेपाल क्यानाडा पार्लियामेन्ट्री फ्रेण्डसिप ग्रुपका अध्यक्षसमेत रहेकी भारतीय मूलकी सांसद सिद्दुले नेपाल भ्रमण गर्ने इच्छा रहेको पनि उल्लेख गरेकी थिइन् ।

क्यानडाका लागि नेपालकी कार्यबाहक राजदूत रोजिना ताम्राकारले क्यानडा र नेपालको सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै क्यानडामा रहेका नेपाली र नेपाली मूलका बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताइन् ।

प्राध्यापक तुल्सी धरेलले क्यानडामा नेपालीसहित अन्तरराष्ट्रिय विद्यार्थीले आवास, कामका साथै मानसिक स्वास्थ्यको गम्भीर समस्या भोगिरहेको उल्लेख गर्दै संघीय सरकारको ध्यानाकर्षण गराएका थिए । उनले क्यानडाका हरेक नेपालीले दुई देशका बीचमा कूटनीतिक प्रतिनिधिका रूपमा कार्य गर्नुपर्ने बताए ।

आयोजक संस्था एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक वामदेव पौडेल, युवा व्यवसायी विजय पौडेल, डेनमार्कका लागि नेपालका पूर्वराजदूत युवनाथ लम्साल लगायतले पनि नेपाल र क्यानाडाको सम्बन्धका विषयमा बोलेका थिए ।

तपाइँको प्रतिक्रिया