बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०३:२५ |सिड्नीको समय: ०१:२५ |काठमाडौंको समय: २१:१०

क्रिकेटर सन्दीप लामिछानेलाई ७ देखि १० वर्षसम्म जेल सजाय हुनसक्ने

एएनजेड खबरडिसेम्बर ३०, २०२३

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका हुन् । यो संहिताअनुसार सन्दीपलाई ७ देखि १० वर्षसम्म सजाय हुनसक्ने देखिन्छ ।

अदालतले पीडितलाई बालिग ठहर्याएको भए पनि जबरजस्ती करणी गरेको भन्दै सन्दीपलाई सजाय सुनाएको हो ।सजाय निर्धारणका लागि आगामी पुस २५ गतेका लागि पेशी तोकिएको छ ।

सन्दीप राष्ट्रिय टिमको कप्तान भएका बेलामा गत वर्षको भदौ ५ गते उनले ती पीडितमाथि राजधानीको गौशालामा रहेको एक होटलमा बलात्कार गरेका थिए । पीडितले जबरजस्ती करणीको आरोपमा भदौ २१ गतेमात्र जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीलाई प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएपछि भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

क्रिकेट खेल्न विदेश गएका बेलामा पक्राउ पुर्जी जारी भए पनि उनी नेपाल भने एक महिनापछिमात्र फर्केका थिए । असोज २० गतेमात्रै नेपाल फकिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले प्रक्राउ गरेको थियो ।

त्यसपछि कार्तिक १४ गते प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनी जेलमा रहेर अनुसन्धान भइरहँदा उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए ।

उनी थुनामुक्त मात्र भएनन् राष्ट्रिय टिममा रहेर क्रिकेट पनि खेले । उनलाई उच्च अदालतले विदेश जान नपाउने भनेको भए पनि विदेश जानका लागि सर्वोच्च अदालतमा गएसँगै उनले त्यो सुविधा पनि पाएका थिए ।

तर मुद्दा दर्ता भएको १४ महिनापछि फैसला आएको छ । यसबीचमा पीडितले भने निकै नै पीडा खेप्नु परेको थियो । राज्यले पीडितको संरक्षणमा बेवास्ता गरेको थियो ।

तपाइँको प्रतिक्रिया